आजदेखि १३ औं साग शुरु

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
Shreelankan Womens Cricket Team_Fotor

१३ औं सागको क्रिकेट खेल्न पोखरा आइपुगेको श्रीलंकन महिला क्रिकेट टोली पोखराको क्रिकेट मैदानमा। क्रिकेट टोली शनिबार पोखरा आइपुगेको हो। तस्वीर :सुदर्शन रञ्जित

१३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता आज (आइतबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ। प्रतियोगिता सुरु हुनु अगावै भलिबल खेल सञ्चालन भएपनि बाँकी २५ खेलमा २६ इभेन्ट भने आइतबारदेखि सुरु हुनेछ।

सागको उद्घाटन र समापन समारोह त्रिपुरेश्वरको दशरथ रंगशालामा गरिने भएपनि बाँकी खेलहरु काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा हुनेछन्। पोखरामा ८ खेल र जनकपुरमा १ खेल बाहेक अरु सबै खेल काठमाण्डौमा हुनेछन्।

सागका लागि त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला अहिले सिंगारिएको छ। मैदानभित्र चिटिक्क पारिएपनि परिसर भने अझै सफाइ गर्न १ दिन लाग्ने राखेपले जनाएको छ। आइतबार गर्ने समारोहका लागि दशरथ रंगशालामा रिहर्सलहरु गरिएको छ। रिहर्सलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए। उद्घाटनका दिन सबै देशका खेलाडी तथा पदाधिकारीका साथै नेपालका विभिन्न कलाकृति झल्कने झाँकी प्रदर्शन गरिनेछ। त्यसका लागि रिहर्सलमा खेलाडी, अफिसियल र झाँकीहरुको साटो विभागीय टिमका सदस्यहरुलाई सहभागी गराएर रिहर्सल गरिएको हो।

सहभागीलाई फोरजी सिम

नेपाल टेलिकमले यही मंसिरको १५ देखि २४ गतेसम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी संपूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्षित गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयले शनिबार विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ।

सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जनाएको छ।

मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट संचालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने बताइएको छ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्िमक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ। सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने छ।

कम्पनीले खेलस्थलमा ग्राहक सेवाका साथै फोरजीलगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टलसमेत राख्ने भएको छ।

नेपालको राष्ट्रिय झण्डा कमल अधिकारीले समात्ने

भारोत्तोलनका कीर्तिमानधारी कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने जिम्मेवारी पाएका छन्। नेपाल ओलम्पिक कमिटिले कमललाई राष्ट्रिय झण्डा बोक्ने जिम्मेवारी दिएको हो। कमलले भारत्तोलनतर्फ नेपालको नयाँ किर्तिमान समेत राखेका छन्। कमलले राष्ट्रलाई अन्तराष्ट्रिय पदक समेत दिलाएका छन्। कमलले आइतबार १३ औं सागको उद्घाटनमा नेपालको राष्ट्रिय झण्डा बोक्नेछन्। कमल यसकारण पनि भाग्यमानी सावित भएका छन्। उनले देशमै हुन गइरहेको दक्षिण एशियाली खेलमा राष्ट्रिय झण्डा समात्ने मौका पाएका छन्। ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको हस्ताक्षरसहितको विज्ञप्तिमा भनिएको छ, ‘उत्कृष्ट खेलाडी भारोत्तोलन खेलका श्री कमल अधिकारी भएको हुँदा उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा उहाँले समात्ने व्यहोरा सहर्ष जानकारी गराउँदछु। ’

कमललाई खेल अनुभव, अन्तराष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाइसकेको आधारमा झण्डा समात्ने अवसर प्रदान गरिएको जनाइएको छ।

सागको पदक जित्ने नेपाली खेलाडीलाई पुरस्कार घोषणा

१३ औं दक्षिण एशियाली खेलकुदमा पदक जित्ने खेलाडीहरुका लागि नगद पुरस्कार रकमको प्रस्ताव तयार गरिएको छ। खेलाडीहरुले पदक जितेको आधारमा ६ देखि दुई लाख पुरस्कार प्राप्त गनेर्गरी प्रस्ताव बनेको छ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वर्ण पदक जित्ने खेलाडीलाई ६ लाख रुपैयाँ नगद पुरस्कार दिइने गरी प्रस्ताव तयार भएको जानकारी दिए। यसैगरी, रजतलाई ४ लाख र काँस्यलाई दुई लाख पुरस्कारको प्रस्ताव गरिएको हो। परिषद्ले कार्यविधि नै तोकेर स्वर्णलाई ३ लाख, रजतलाई २ लाख र काँस्यलाई १ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ। यसैगरी स्वर्ण पदक जित्ने आमा खेलाडीहरुलाई भत्ताको व्यवस्था पनि गरिएको तिम्सिनाले जानकारी दिए।

मिडिया राइट्सको रकम, खेलाडीको उपचारमा खर्च

दक्षिण एसियाली खेलकुद सागको मिडिया राइट्स बिक्रिबाट आएको रकम खेलाडीको उपचारमा खर्च गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताएका छन्। नेपालमा आयोजना हुन लागेको सागको ब्रोडकास्टिङ अधिकार भारतीय मिडिया कम्पनीलाई दिइएको छ। जसबाफत ८ करोड रुपैयाँ आउनेछ। त्यो पैसा अन्य ठाउँमा खर्च नहुने सिलवालले बताए। मिडिया राइट्बाट आएको पैशा उपचारमा कठिनाइ पाइरहेका खेलाडीलाई सहयोग गरिने बताए। खेलाडीको परिवारका सदस्यलाई पनि सहुलियतमा उपचारका लागि सहयोग गर्ने सिलवालले बताए। हाल बनाइरहेको खेलकुद अस्पताललाई समृद्ध बनाएर नयाँ अस्पतालको पनि परिकल्पना गरिरहेको सिलवालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width