पाल्पा साहित्य समाजको रजत महोत्सव सम्पन्न

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
p11

पाल्पा, ११ मंसिर । वर्षभरी नै विविध कार्यक्रम गरी पाल्पा साहित्य समाजले रजत महोत्सव सम्पन्न गरेको छ । रजत महोत्सव समारोह समापनको अवसरमा कृति विमोचनसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरेको समाजका अध्यक्ष पुष्कर राज रेग्मीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मञ्जु काँचुलीले पाल्पा साहित्यको उर्वर थलो भएको जनाउँदै यहाँको साहित्यिक गतिविधिलाई अगाडि बढाउने सन्दर्भमा पाल्पा साहित्य समाजको भूमिका महत्त्वपूर्ण रहेको बताइन । उनले समाजले पाल्पाको मात्र नभएर समग्र नेपाली साहित्यको श्रीवृद्धिमा प्रंससनीय कार्य गर्दै नेपाली साहित्यलाई धन्य बनाएको बताइन । समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले साहित्यिक संस्थाहरू जन्मिने तर गतिशील नहुनु दुःखद रहेको बताए । उनले पाल्पामा साहित्यिक गतिविधिलाई निरन्तरता दिनको लागि साहित्यिक संस्थाहरूमा समभाव र मित्रता आवश्यक रहेको औंल्याए ।

समाजले साहित्य, कलाकारिता, पत्रकारिता, समाजसेवा लगायत विभिन्न विधामा कलम चलाउने पाल्पाली व्यक्तित्वहरूलाई सम्मानित गरेको अध्यक्ष रेग्मीले बताए । उनका अनुसार समाजले छविलाल पाल्पाली प्रतिभा पुरस्कारबाट साहित्यकार युसुफदिन मियाँ पाल्पालीलाई सम्मान गरेको छ । यस्तै समाजले इन्द्रराधा भारती सामाजिक पुरस्कारबाट शोभा शाक्य, सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै श्रीनगर एफ एम पाल्पाका अध्यक्ष भिमसेन कार्की, गाउँले देउरालीका सम्पादक धातानन्द शर्मा, पाल्पाली कलाकार किरण चित्रकार, संस्कृतिकर्मी लालकाजी शाक्य र गोविन्दप्रसाद आचार्यलाई सम्मान गरेको छ ।

समापन कार्यक्रममा साहित्यकार सीता विष्ट कार्की, वरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्मा, समाजसेवी शोभा शाक्य, पाल्पा प्यारागन बोर्डिङ्गका प्रिन्सिपल गंगाबहादुर खत्री, कलाकार किरण चित्रकार लगायतले शुभकामना मन्तव्य सहित साहित्य समाजले सम्पन्न गरेका कार्यक्रमहरूको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षतामा चलेको थियो । समाजका सल्लाहकारद्वय चित्रवलीराम सुवालको स्वागत र चिरञ्जीवी शर्मा ढुंगानाको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र पन्थीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width