देशको इज्जतका लागि पनि कांग्रेसले चुनाव जित्नुपर्छ – डा. रिजाल

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
khemraj poudel (1)

पोखरा, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की क्षेत्र नं. २ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले देशको इज्जतका लागि पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिएका छन् । उनले यो चुनाव जितेर कम्युनिष्ट सरकारलाई पाठ सिकाउन आवश्यक रहेको बताए ।

‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, कांग्रेस सत्तामा पनि पुग्दैन । कांग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ’, नेता रिजालले भने ।‘मुलुकमा लोकतान्त्रिक संविधान बनेको छ । सरकार त्यही संविधानमा टेकेर बनेको छ । तर सरकार अलोकतान्त्रिक काम गर्न उद्धत छ’, उनले भने, ‘संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक छ ।’

चुनावी अभियानका लागि कास्कीमा १ सातादेखि खटिएका नेता रिजाल पहिलो चरणको घरदैलो अभियान पश्चात् पार्टीका नेता कार्यकर्ता भेटघाटमा सक्रिय छन् । उनले पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्तासंग भेटेर चुनावी रणनीतिबारे जानकारी लिएका छन् ।

नेता कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘यो चुनाव कांग्रेसका लागि गर या मरको अवस्थामा छ । त्यसैले यो चुनावका लागि पार्टीको नीति र निर्देशन लिएर जनतामा जानुस्, मतदाताई राम्रोसंग बुझाउनुस्, यो चुनाव जसरी पनि जित्नै पर्छ ।’ पार्टी र सिंगो मुलुकको इज्जत बचाउन भए पनि यो चुनाव कांग्रेसले जित्नुपर्ने नेता रिजालले स्पष्ट पारे ।

उनले पार्टीको भातृ तथा शुभेच्छक संघसंस्थाहरू नेपाल महिला संघ, नेपाल तरुण दल, नेविसंघ, शिक्षक संघ, जनजाति संघ, किसान संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, मुस्लिम संघका नेता कार्यकर्तासंग भेटघाट गरेका छन् ।

भेटघाटमा उनले भनेका छन्, ‘यो समय घरमा बसेर चिया गफ बेला होइन, मतदाता भेट्ने समय हो, त्यसैले अबको १० दिन कोही कसैले अन्यत्र समय खर्च नगर्नुस् ।’ ‘चुनाव पछि तपाइँहरू आआफ्नै काममा फर्किनुस् तर यो १० दिन पार्टीका लागि समय छुट्याउनुस् । अब ३ वर्ष पार्टीका लागि खट्नु पर्दैन’, नेता रिजालले भने ।

मतदाता भेटघाट अभियान तीव्र

यसैबीच कास्की कांग्रेसको घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वटा र वडाभित्रका सबै टोलमा कांग्रेसका नेता कार्यकर्ता पुग्ने, मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार आज शुक्रबार पोखरा–२० को मौजा आँटीघरमा उम्मेदवारसहितको मतदाता भेटघाट भइरहेको छ । साथै पोखरा–४ र ९ मा पनि कास्की कांग्रेसका उच्च नेताहरू सहितको घरदैलो भइरहेको उनले बताए ।

पोखरा ३३ मा पनि पार्टीका केन्द्रीय सदस्य जीवन परियार घरदैलोमा सक्रिय छन् । बिहीबार ५ वटा वुथ केन्द्रित सम्पर्क कार्यालय शुभाम्भ गरिएको नेता परियारले जानकारी दिए । कास्की कांग्रेसले नेता परियारलाई कमाण्डर बनाएर पोखरा ३३ मा खटाएको थियो । उनी १५ दिनदेखि त्यसैक्षेत्रमा केन्द्रित छन् ।
यता, पार्टीका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट पनि पोखरा ८ मा निरन्तर सक्रिय भएका छन् । उनले पोखरा ८ मा विभिन्न कलष्टर छुट्याएर चुनावी अभियान शुरु गरेका थिए । उनले प्रत्येक दिन मतदाता भेटघाट गरेका छन् । पार्टीका विभिन्न संयन्त्र परिचालन गरेर पटक पटक मतदातालाई भेटघाट गर्न पठाएका छन् ।

उनले मतदाताको पूरै विवरण संकलन गरेर विद्यार्थी भेट्न, क्याम्पस भिजिट गर्न नेविसंघका नेता कार्यकर्ता परिचालन गरेका छन् । यस्तै महिला भेट्न महिला संघ, मजदुर भेट्न ट्रेड युनियनका नेता कार्यकर्ता परिचालन गरेको संयोजक रानाभाटले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width