कास्की २ उपनिर्वाचन मनोनयन

प्रकाश ढकाल
कार्तिक २२, २०७६
nekapa ryali_Fotor

नेपाल कम्यु निष्ट पार्टी (नेकपा) चुनावी र्याली।  तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

२५ जनाले दिए उम्मेदवारी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत कास्की २ मा २५ जनाले उम्मेदवारी दिएका छन्। ११ जना स्वतन्त्र र १४ राजनीतिक दल गरी २५ जनाको उम्मेदवारी परेको हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व. रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराईले उम्मेदवारी दिइन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट पाका नेता खेमराज पौडेलले मनोनयनपत्र दर्ता गराए।

नेकपा उम्मेदवार भट्टराईका लागि नेकपा कास्की अध्यक्ष कृष्णबहादुर थापाले प्रस्ताव र सांसद प्रभा कोइरालाले समर्थन गरे। काँग्रेसका उम्मेदवार पौडेलका लागि शोभियतबहादुर अधिकारीले प्रस्ताव र देवराज चालिसे समर्थन गरे। उनीहरु दुवै उम्मेदवार आकांक्षी थिए।

नेपाली काँग्रेस चुनावी र्याली।

यस्तै, समाजवादी पार्टी नेपालबाट इञ्जिनियर धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी, राप्रपाका रोमबहादुर भण्डारी, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेकपा (माले) का टेकनाथ भण्डारी, नेशनल मंगोल अर्गनाइजेसनका रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, नेपाली काँग्रेस (वीपी) का चन्द्रबहादुर रानाभाट, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की गंगा मल्ल, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका जयवन्त विक्रम शाहले पार्टीका तर्फबाट उम्मेदवारी दिए।

यसैगरी, कमलजंग कुवँर, यज्ञप्र्रसाद पंगेनी, जमुना शर्मा, लक्ष्मीकुमारी भुजेल, सुनिल भुषाल, सुनिलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बास्तोला र पुरुषोत्तम खनालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। विवेकशील नेपाली दलकी उम्मेदवार जमुना शर्माले पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। मनोनयन दर्ता गराउनेहरु केही कास्की बाहिरका पनि छन्। स्वतन्त्र उम्मेदवारी दिएका पंगेनी स्याङ्जाबाट आएका हुन् भने भुषाल कपिलबस्तु, रेग्मी सुखेर्त र खनाल स्याङ्जाका मतदाता हुन्।

समाजवादी पार्टी चुनावी र्याली। तस्वीर : प्रदीप पौडेल

राजनीतिक दलले पनि केही उम्मेदवार बाहिरबाट झिकाएका छन्। जनमुक्ती पार्टीका राना तनहूँ रिसिङका स्थायी बासिन्दा हुन् भने संघीय लोकतान्त्रिकका सुब्बा तेह्रथुमका हुन्। यस्तै, नागरिक पार्टीका घले चितवनबाट कास्की आएर उम्मेदवारी दिए। कास्कीकै भए पनि केही उम्मेदवार सम्बन्धित निर्वाचन क्षेत्रभन्दा बाहिरका छन्। संविधानमै देशभरिबाट मतदाता नामावलीमा नाम भएको व्यक्तिले जुनसुकै निर्वाचन क्षेत्रमा पनि उम्मेदवार दिन मिल्ने सहुलियत दिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार पौडेल कास्की ३ का स्थायी बासिन्दा हुन् भने काँग्रेस (वीपी) का रानाभाट कास्की १, देशभक्त समाजका विश्वकर्मा र राष्ट्रिय मुक्ति आन्दोलनका शाह कास्की ३ का हुन्। स्वतन्त्र उम्मेदवारी दिने पनि अधिकांश फरक निर्वाचन क्षेत्रका छन्। स्वतन्त्र उम्मेदवारी दिएका कुँवर, शर्मा, भुजेल र गौतम कास्की ३ तथा बास्तोलाको कास्की १ मा मतदाता नामावली छ। अघिल्लो पालि स्वतन्त्र सहित १३ जनाले उम्मेदवारी दिएका थिए। चुनावमा नेकपाका उम्मेदवार रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेको पक्षमा १८ हजार ६ सय ६१ मत परेको थियो। ७० हजार ६ सय ५१ मतदातामध्ये अघिल्लो चुनावमा ४९ हजार ९ सय मत खसेको थियो। यसपालि ७१ हजार ८ सय ७१ मतदाता छन्। कास्की २ मा पोखराका ११ वटा वडा पर्दछन्।

३ जनाको नाम ‘रिजेक्ट’

मनोनयन दर्ता गराएकामध्ये ३ जनाको नाम निर्वाचन सफ्टवेयरमा समावेश हुन सकेन। निर्वाचन आयोगले उम्मेदवारीमा समस्या नआउन छुट्टै सफ्टवेयर बनाएको थियो। नाम र ठेगाना दर्ता गराएपछि गलत उम्मेदवारको नाम स्वतः सफ्टवेयरले फर्काइदिन्छ।

राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका उम्मेदवार जयवन्त विक्रम शाह, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बाको नाम सफ्टवेयरमा सपोर्ट नभएपछि उम्मेदवारी खारेज भएको छ। उनीहरुको नाम यसअघिको निर्वाचनमा समानुपातिक सूचीमा रहेकोले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नमिल्ने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाए।

साहले पाएनन् समर्थक र प्रस्तावक

जनकपुरका डा कृष्णचन्द्रप्रसाद साह कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न बिहीबार निर्वाचन कार्यालय पुगे। तर, उनले प्रस्तावक र समर्थक पाउन सकेनन्। उपनिर्वाचनको उम्मेदवारका आकांक्षी साहले प्रस्तावक र समर्थक नपाएपछि जनकपुर नै फर्किने घोषणा गरेका छन्।

यसअघिको निर्वाचनमा उनले जनकपुर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए। उनले २०७० मा संघीय लोकतान्त्रिक फोरम नेपाल र २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उपचुनावका लागि साह ३ दिनअघि पोखरा आएका थिए।

केही वडाहरुमा उनले प्रचारप्रसार समेत गरे। तर प्रस्तावक र समर्थक नपाएपछि उनी त्यसै फर्किएका हुन्। ‘तराई र पहाडका जनतालाई जोड्नु छ। दुवैबीच भाइचारा चाहिएको छ। यो इन्टरकनेक्सनका लागि मैले उम्मेदवारी दिन लागेको थिएँ, ’ उनले भने, ‘तर प्रस्तावक र समर्थक पाइनँ। पाएकाहरुले बागेर्निङ गरे। म शासनमा सुधार हुनुपर्छ भनेर चुनावमा सहभागी हुँदैछु। पैसा तिरेर समर्थक र प्रस्तावक खोज्नु राम्रो होइन। बरु उम्मेदवारी दिन्नँ। ’ उनी सिँचाइ तथा जलश्रोत विज्ञ हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width