नेकपाबाट विद्या उम्मेदवार

कास्की २ उपनिर्वाचन

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७६
thumb

पोखरा, १७ कात्तिक कास्की क्षेत्र २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व. रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराई उम्मेदवार बन्ने पक्का भएको छ ।

विद्यालाई उम्मेदवार बनाउन नेकपा कास्कीले यसअघि गरेको सिफारिस शनिबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको हो ।
नेकपा कास्की अध्यक्ष कृष्ण थापाले भने, ‘जिल्ला कमिटीले यसअघि गरेको एकल नामको सिफारिसलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत् अनुमोदन गरेको हो । घोषणाको काम भने आइतबार  दिउसाे हुने जानकारी छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा आइतबार गर्ने जानकारी दिएका थिए । उनका अनुसार क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरिनुका साथै तिनमा छलफल शुरु भएको संचारकर्मीलाई जानकारी दिएका थिए ।

उपनिर्वाचनमा देशको एकमात्र प्रतिनिधिसभा सदस्यअन्तर्गत रिक्त कास्की २ मा मंसिर १४ मा हुने निर्वाचनको लागि निर्वाचन आयोगले यही कात्तिक २१ मा उम्मेदवारको समय तय गरेको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको हो । सो क्षेत्रमा शुरुदेखि नै स्व. अधिकारीकी पत्नी विद्यालाई नै उत्तराधिकारीका रुपमा हेरिएको थियो ।

यद्यपि, नेकपा जिल्ला कमिटीले गत ८ कात्तिकमा रवीन्द्रपत्नी विद्याको एकल नाम सिफारिस गरेकोमा सोको भोलिपल्टै प्रदेश कमिटीले उनीसहित २ जनाको नाम थपेर कुल ३ जनाको नाम केन्द्रमा पठाएको हो । यसरी पठाइएका नामहरुमा नेकपा नेता सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ थिए ।
केन्द्रकै नीतिअनुसार ३ जनाको नाम पठाउनुपर्नेमा वरीयतामा भट्टराई सहित क्रमशः प्यासी र करणको नाम पठाइएको थियो । पार्टीमा गरेको योगदानका आधारमा प्यासी र आदिवासी जनजाति भएकोले करण सिफारिसको ‘लिष्ट’ मा परेका थिए ।

जिल्ला कमिर्टीको सम्पन्न बैठकमा प्रदेशसभा सदस्य समेत रहेका नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले विद्याको नाम प्रस्ताव गरेकोमा सर्वसम्मत् सिफारिस भएको थियो । कास्की जिल्लाबाट एकल नाम सिफारिस भएपछि विद्यालाई नै निर्विकल्प मानिएकोमा प्रदेशले जिल्लाको निर्णको भोलिपल्टै थप नाम सहित गरेको सिफारिसले अन्यौल सिर्जना गरेको थियो । सो अन्योल अब उम्मेदवार चयनपश्चात साम्य भएको छ ।

सुरुवातमा सक्रिय राजनीतिमा रहेकी विद्याले विवाहपछि आफ्ना पतिलाई सक्रिय राजनीतिको लागि मार्गप्रशस्त गर्दै सहयोग गरेकी थिइन् । तत्कालीन नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुमा रवीन्द्र अधिकारी महासचिव हुँदा विद्या सचिव थिइन् । साथै उनी महिला विभाग प्रमुख समेत भएर कार्यभार सम्हालेकी थिइन् । हाल प्राध्यापन पेशामा आबद्ध रहेकी उनी एमफिल हुन् ।

विगतको चुनाव परिणाम हेर्दा कास्की २ नेकपाको पकड क्षेत्र मानिन्छ । उपनिर्वाचनका लागि अन्य राजनीतिक दलसमेत आफ्नो उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा छन् । यसैबीच, नेपाली काँग्रेसले कास्की २ को लागि १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार बनाउने पहिलो घोषणा गरिसकेको छ ।

मुख्य प्रतिष्पर्धा रहने दलहरुबीच महिला उम्मेदवार सिफारिस हुँदा काँग्रेसवृत्तमा समेत महिला उम्मेदवार उठाउनुपर्ने दबाब सिर्जना भएको छ । गत कात्तिक ५ मा काँग्रेसबाट महिलातर्फ लक्ष्मी पाण्डे, रंगीला आचार्य, बिमला भण्डारी र खेमकुमारी बराल सहित १६ जना सिफारिस थिए ।

अघिल्लो प्रतिनिधिसभा सदस्य चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । तत्कालीन विवेकशील साझा पार्टी तेस्रो भएको थियो । नेकपातर्फ तत्कालीन एमालेले १३ हजार ४ सय ६७ मत थियो भने काँग्रेसले १० हजार ६ सय १३ र तत्कालीन माओवादीले २ सय ७ सय ५२ मत पाएको थियो । तत्कालीन समयमा प्रत्यक्षतर्फ १३ उम्मेदवार रहेकोमा समानुपातिकतर्फ २० ओटा राजनीतिक दल सहभागी थिए । प्रदेशसभाअन्तर्गत क्षेत्र २ (क) मा नेकपा र (ख) मा नेपाली काँग्रेस विजयी भएको हो । ७० हजार ६ सय ५१ मतदातामध्ये अघिल्लो चुनावमा ४९ हजार ९ सय मत खसेको थियो । कास्की २ मा पोखराका ११ वटा वडा पर्दछन् ।

उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जनाए । उनका अनुसार यसपालि १ हजार २ सय २० नयाँ मतदाता थप भएका हुन् । जिल्ला अदालन कास्कीका न्यायाधीश काजीबहादुर राई मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।
–विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width