आरोहणको ७० वर्षपछि प्रविधियुक्त उद्धार केन्द्र

रासस
कार्तिक १५, २०७६
tttt
  • अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना ।
  • कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो ।
  • ड्रोनलाई माछापुच्छ्र्रे आधार शिविरदेखि अन्नपूर्ण आधार शिविर र यस आसपासका क्षेत्रमा सूचनाका लागि पठाउन सकिने ।
  • यस क्षेत्रमा अघिल्लो वर्ष मात्रै स्वदेशी एवं विदेशी गरी ९८ हजार पर्यटक पुगेका र ती मध्ये १३० जना समस्यामा परेका थिए भने ७ जनाको मृत्यु भएको थियो ।
  • करीब १५ करोड रुपैयाँ बराबरको लागतमा बनेको उद्धार केन्द्रमा अत्याधुनिक प्रविधिको ड्रोन राखिएको छ ।

पोखरा, १५ कात्तिक । आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ । अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ्र्रे आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार करीब १५ करोड रुपैयाँ बराबरको लागतमा बनेको उद्धार केन्द्रमा अत्याधुनिक प्रविधिको ड्रोन राखिएको छ । आसपासका क्षेत्रमा पर्यटक हराउने, हिमपहिरोमा पर्ने लगायतका समस्या जानकारी हुनासाथ उक्त ड्रोनलाई उडाएर त्यसैमार्फत सूचना प्राप्त गर्न सकिने र त्यसैका आधारमा तत्काल उद्धारका लागि जनशक्ति परिचालन गर्न सकिन्छ ।

उक्त ड्रोनलाई माछापुच्छ्र्रे आधार शिविरदेखि अन्नपूर्ण आधार शिविर र यस आसपासका क्षेत्रमा सूचनाका लागि पठाउन सकिने र यसले एकपटकमा १० किलोग्राम बराबरको औषधिसमेत लिएर जान सक्छ । पदयात्रा पर्यटनका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको यस क्षेत्रमा अघिल्लो वर्ष मात्रै स्वदेशी एवं विदेशी गरी ९८ हजार पर्यटक पुगेका थिए । ती पर्यटकमध्ये १३० जना समस्यामा परेकामा सात जनाको मृत्यु भएको थियो । उद्धार केन्द्र सञ्चालनसँगै यस क्षेत्रमा आउने पर्यटकलाई थप सुरक्षाको प्रत्याभूति हुने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए ।

पर्यटकको सुरक्षाका लागि गाउँपालिका पदयात्रा मार्गको व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । विश्व इतिहासमा नै पहिलोपटक सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका थिए । अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर छ । त्यसपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालमा आरोहण शुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा लिइन्छ । आरोहणको जेठो हिमाल र यस क्षेत्रको पदयात्रासहितको समग्र पर्यटन प्रवद्र्धनका लागि विगत दुई वर्षयता अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गरिँदै आएइको छ ।

महोत्सवका अवसरमा अन्नपूर्ण आधार शिविर जाने मार्ग पर्यटकीय गाउँ घान्द्रुकदेखि आधार शिविरसम्मको अन्नपूर्ण म्याराथन पनि सँगसँगै गर्दै आइएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको शालिक स्थापना गरिसकिएको छ । हर्जोगको अर्धकदको शालिक समुद्री सतहबाट चार हजार १३० मिटर उचाइस्थित अन्नपूर्ण आधार शिविरमा राखिएको हो । लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्ने पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन्न्१९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्रामा जाने गर्छन् । पछिल्लो ३० वर्षयता दशकयता पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्र्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ वटा होटेल सञ्चालनमा छन् ।
–वासुदेव पौडेल

Related News

सम्बन्धित समाचार

hero news full width