ढिकुरपोखरी समाज सहकारीले उत्पादनमा जोड दिने

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Dhikurpokhari_Fotor

पोखरा महानगरपालिका–२ स्थित मिरुवामा कार्यालय रहेको ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा लगानीलाई थप विस्तार गर्ने जनाएको छ।

सहकारीको आइतबार जिरोकिलोमिटरमा सम्पन्न आठौं वार्षिक साधारणसभा अवसरमा पदाधिकारी र सदस्यले उत्पादनमूलक क्षेत्रमा लगानी थप्दै देशको अर्थतन्त्रमा टेवा पुर्याउने प्रण गरे। साधारणसभा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दुर्गाकुमारी विकले बचत तथा ऋण सहकारीसँग लगानीका प्रशस्त क्षेत्रहरु रहेको भन्दै उत्पादन बढाउने क्षेत्रमा कर्जा विस्तार गर्न सुझाव दिइन्।

कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक कमला गिरीले ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाको हिसावकिताब अत्यन्त पारदर्शी पाएको भन्दै सहकारीको प्रशंसा गरिन्।

अध्यक्षको आसनबाट सहकारी अध्यक्ष इन्द्रप्रसाद पौडेलले लगानीका लागि ऋण लिएर कोही पनि सानो नहुने भन्दै सहकारीबाट ऋण लिएर उत्पादन बढाउने अभियानमा टेवा दिन बचतकर्ताहरुसँग आग्रह गरे। सो सहकारीले जे जति प्रगति गरेको छ सबै देन सदस्यकै भएको भन्दै उनले आगामी दिनमा सदस्यता विस्तारभन्दा पनि लगानी विस्तारतर्फ आफूहरुले जोड दिने बताए।

कार्यक्रममा असल बचतकर्ताको रुपमा शान्तिकुमारी पौडेल र सहिल देवकोटा, असल आवधिक बचतकर्ताको रुपमा सावित्रा सुवेदी र रामकुमार श्रेष्ठ तथा असल कारोबारकर्ताको रुपमा भोजकुमारी दाहाल र राजु पौडेल सम्मानित भएका थिए।

यसैगरी असल मासिक बचतकर्ताको रुपमा राधिका भण्डारी र वसन्त पौडेल, उत्कृष्ट कारोबारकर्तामा बाबुराम भण्डारी र लक्ष्मी अधिकारी तथा उत्कृष्ट कर्मचारीमा व्यवस्थापक अनिल अधिकारी सम्मानित भएका थिए।

कार्यक्रममा सहकारीका सल्लाहकार एवं राप्रपा केन्द्रिय सदस्य कुलप्रसाद गुरुङ कुलु, सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार रामचन्द्र पौडेल, ढिकुरपोखरी समाजका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पनि आफ्ना भनाइ राखेका थिए।

कार्यक्रम संचालन सहकारी सचिव मनपति अधिकारीले गरेका थिए। साधारण सभा अवसरमा सहकारी कोषाध्यक्ष बाबुराम भण्डारी र लेखा संयोजक टीकाराम अधिकारीको प्रतिवेदन पारित गरिएको थियो।

सो सहकारीमा ३ सय ३३५ जना शेयर सदस्य रहेका छन्। २०७६ असार मसान्तसम्म शेयर पुँजी २ करोड ३९ लाख ७२ हजार रुपैयाँ रहेको जनाइएको छ। यसैगरी कर्जा लगानी ५ करोड २३ लाख १० हजार ८ सय रुपैयाँ रहेको पनि सहकारीले जनाएको छ। निक्षेपमा भने ३ करोड ३८ लाख ३० हजार रुपैयाँ रहेको सहकारी अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width