सामुदायिक होमस्टे संचालन

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७६
homestay 3

म्याग्दी,२८ भदौ ।म्याग्दीको रघुगंगा गाउँपालिका–५ स्थित झिँमा झिँ सामुदायीक होमस्टे (घरवास) संचालनमा ल्याइएको छ । पर्यटन मार्फत ग्रामिण अर्थतन्त्रको विकास र स्थानीय वासीलाई रोजगार सृजना गर्ने उद्देश्यले सामुदायिक होमस्टे संचालनमा ल्याइएको हो ।

सामुदायिक होमस्टेको शुक्रबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भण्डारीले पर्यटनको प्रचुर सम्भावना बोकेको रघुगंगामा सामुदायिक होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे । उनले पर्यटन मार्फत ग्रामिण अर्थतन्त्रको विकास जीविकोपार्जनसुधारमा जोड दिएको बताउँदै गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको विकासका लागि पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए ।

‘गाउँपालिकाले पर्यटन मार्फत ग्रामीण अर्थन्त्रको विकास र जीविकोपार्जन सु्धारमा जोड दिएको छ, ’ अध्यक्ष भण्डारीले भने । ‘गाउँपालिका भित्र रहेका टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल लगायत गाउँपालिकाको धार्मिक पर्यटकीय स्थलको विकासका लागि पूर्वाधार विकासमा प्राथमिकता दिइएको छ । ’

१४ लाख ३३ हजार २२ रुपैयाँको लागतमा ४ कोठे होमस्टे निर्माण भएको होमस्टेका अध्यक्ष डेकप्रसाद गर्बुजाले बताए । दुई वटा कोठामा पाहुना सुत्ने ठाउँ बनाइएको छ । एक वटा भान्छा र अर्को डाइनिङ हल छ । शौचालय र सयनकक्षको पनि सुबिधा रहेको छ ।

झिँका १९ घर मध्य पहिलो चरणमा ९ घरमा होमस्टे सुरु भएको छ । थप घरमा पनि पूर्वाधार तयारी गरेर घरबास चलाउने योजना छ । पाहुनाघर निर्माण र होमस्टे सञ्चालनका लागि वन डिभिजन कार्यालयले दश लाख, गाउँपालिकाले एक लाख ४२ हजार र सञ्चालकहरुले दुई लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन् । गाउँमा आउने पाहुनालाई भवनमा खाना खुवाएर आलोपालो प्रथा अनुसार होमस्टे सेवा भएको घरमा बास बस्ने सेवा दिइने अध्यक्ष गर्बुजाले बताए ।
सामुदायिक होमस्टेका अध्यक्ष गर्बुजाको अध्यक्षता, सचिव गौरी गर्बुजाको सञ्चालन र सहसचिव लक्ष्मी शेरपुञ्जाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, सब डिभिजन वन कार्यालय रघुगंगाका फरेष्टर राम्जी शर्मा, महेन्द्र माविका प्रअ यामबहादुर शेरपुञ्जा, कार्यपालिका सदस्य रीति थजाली र स्थानीय गोविन्द पाइजाले मन्तब्य व्यक्त गरेका थिए । आमा समूहले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्धार झिँ पर्यटकीय स्थल टोड्केको फेदीमा छ । टोड्के र गाउँको भ्रमणमा आउने पर्यटकहरुको सुबिधाका लागि पाहुना घर र होमस्टे सञ्चालन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width