सडकले गलेम भीर छिचोलेपछि गाउँमा नाचगान

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७६
Galem

गलेम भीरमा खनिएको मोटरबाटोमा पैदल यात्रा गर्दै स्थानीय । तस्वीर : रुपनारायण ढकाल ।

पोखरा, २४ भदौ । स्याङ्जाको सर्केटारी–गलेम–पञ्चासे ग्रामीण सडकअन्तर्गत फेदीखोला गाउँपालिका–४ स्थित गलेम भीर खण्डको ट्रयाक मंगलबार उद्घाटन गरिएको छ । झण्डै २ करोड रुपैयाँ लागतमा खोलिएको सो खण्डको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

पञ्चैबाजा र नाचगान सहित सडक खण्ड उद्घाटन भएपछि पोखरा र अन्य बजार क्षेत्रमा बसोबास गर्दै आएका फेदीखोला गाउँपालिकाका हजारौं बासिन्दा र स्थानीय जनता भीरखण्डमा नाचगान गर्दै कार्यक्रमस्थल गलेम डाँडा पुगेका थिए । सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो ।

संघीय सरकार, गण्डकी प्रदेश सरकार, सांसद विकास कोष, स्थानीय निकाय र फेदीखोलाका ६ सय ३३ बासिन्दाले सडक निर्माणका लागि आर्थिक सहयोग गरेको समिति अध्यक्ष मेजर डिलबहादुर गुरुङले जानकारी दिए । कार्यक्रम अवसरमा बाटो निर्माणको जिम्मा पाएका बाराही कन्ष्ट्रक्सन, सत्य निर्माण सेवा र डोजर चालक दीपक नेपाली गाउँपालिका, निर्माण समिति तथा स्थानीय आमा समूहको तर्फबाट सम्मानित भएका थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सर्केटारी गलेम पञ्चासे मार्गको जिम्मा अब प्रदेश सरकारले लिने घोषणा गरे । ‘अब जनताले बाटोको लागि पैसा हाल्नु पर्दैन,’ उनले भने, ‘जनताको पीर प्रदेश सरकराले नजिकबाट हेर्छ ।
बाटो समितिका उपाध्यक्ष चूडामणि पौडेलले भीर छिचोलेर सडक मार्ग गाउँ पुग्दा आफूमा हर्षको सीमा नरहेको बताए । बाटोको स्तारोन्नति हुन सके विदेशी पर्यटक पञ्चासे पुग्न र स्थानीय बासिन्दा गाउँ अर्थात् प्रकृतितर्फ फर्कन सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे । प्रदेश सरकारले गाउँ फर्कने खालको नीति ल्याउनुपर्ने सुझाव पनि पौडेलको थियो ।

सिद्धार्थ राजमार्गअन्तर्गत फेदीखोला गाउँपालिका– १ सर्केटारीबाट २०५४ मा खन्न शुरु गरिएको सडम मार्गअन्तर्गत गलेम भीर खण्ड मात्र २ हजार ६ सय मिटर रहेको छ भने गत माघदेखि यता पछिल्लोपटक भीरमा ८ सय मिटर खण्ड खनिएको हो । सर्केटारीबाट गलेमहुँदै अगाडि बढ्ने यो मार्ग पञ्चासे भञ्ज्याङ पुग्दा १७ किलोमिटर दुरी तय हुने उपभोक्ता समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले जानकारी दिए । भीर खण्डमा बाटो निर्माणको थालनी भने २०६८ सालमा भएको उनले सुनाए ।

समितिअन्तर्गत भीर खण्डका लागि मात्र गठित उपभोक्ता समितिका अध्यक्ष एवं अर्थ संकलन समितिका संयोजक क्याप्टेन इन्द्रबहादुर गुरुङले लामो प्रयासपछि बाटो निर्माण कार्य सम्पन्न भएको भन्दै सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

फेदीखोला–४ का वडा अध्यक्ष माधवप्रसाद शर्मा सुवेदीले गाउँपालिकाको बजेटले मात्र सडकको स्तरोन्नति गर्न सम्भव नहुने भन्दै प्रदेश सरकारले त्यसमा सघाउनुपर्ने माग राखे । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश समिति सदस्य शैलेन्द्र घिमिरेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सिंगो गाउँले आर्थिक सहयोग गरी बाटो बनाउनु नेपालमा नै उदाहरणीय काम भएको बताए । ‘जनताको यो हुटहुटीबाट प्रदेश सरकारले सिकोस्,’ उनले भने ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बाटो आएसँगै जनता अब गाउँ फर्कनुपर्ने बताउँदै गाउँपालिकाले कृषि र पर्यटनमा ठूलो सम्भावना बोकेको भनाइ राखे । बाटो बनाउनेविरुद्ध नै अदालत र अख्तियारमा मुद्दा हाली केही पक्षले निरुत्साहित गर्न खोजेको भन्दै उनले दुखेसो पोखे । बाटो बन्नुपूर्व जनताले गलेम भीर के हुन्छ भनेर प्रश्न सोध्ने गरेको र कसैले गाउँलाई स्याङ्जाको कर्णाली भन्ने गरेको भन्दै उनले गाउँलाई अब पर्यटकीय र कृषिको गाउँ बनाउनुपर्ने भनाइ राखे । पूर्व सांसद हितकाजी गुरुङले समेत बाटो निर्माणमा ठूलो भूमिका खेलेको उनले सुनाए ।

कार्यक्रममा संघीय सांसद नारायणप्रसाद मरासिनी, प्रदेश सांसद मीनप्रसाद गुरुङ, समितिका सचिव कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास लगायतले भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width