पत्रकारितासँगै राजनीतिमा आउन सक्छु– रवि लामिछाने

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
Rabi-Lamichhane-Chitwan

चितवन, १० भदौ, पत्रकार रवि लामिछाने आफू राजनीतिमा आउने संकेत गरेका छन् । पहिलो प्रथामिकता पत्रकारिता र दोस्रोमा राजनीतिक विकल्प पनि खुला रहेको मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।

राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने–सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।यद्यपि उनले सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेतालाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । केही लागेन भने राजनीति विकल्प बन्न सक्ने आशय उनले व्यक्त गरे ।

‘बेथिति र बिसंगतीलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेर चाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए । हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएकोबारे पनि पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो । जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने पनि बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width