फोटो फिचर : मनमोहक मार्फाली स्याउबारी

Suraj Hazare Dahal
भाद्र ९, २०७६
MARPHA 2

मुस्ताङ भन्ने बित्तिकै धेरैको मनमा मुक्तिनाथ तथा हिमालहरुको दृश्यहरु आउँछन् । यहाँ स्याउ, फापर, आलु, उवा लगायत विभिन्न अन्न तथा फलफुलहरु पनि फलाइने गरिन्छ । ति मध्ये स्याउले मुस्ताङलाई नेपालभरि प्रख्यात बनाएको छ । तिजको आसपास मुस्ताङ जिल्लाका विभिन्न स्थानहरुमा स्याउ लटरम्म फलेको देख्न सकिन्छ । स्याउको राजधानीको रुपमा कहलिएको मुस्ताङको मार्फा गाउँ स्याउको लागि प्रख्यात छ ।

तीजदेखि दशैं अगाडिसम्म यहाँ स्याउ टिप्न शुरु गरिन्छ । हिमाल पारी रहेको मार्फाको भौगौलिक र जैविक विशेषता अलग छ । कालगण्डकी उपत्यकामा अवस्थित यस हिमाली गाँउ समुद्रि सतहदेखि २६५० मिटरको उचाइमा रहेको छ । वृष्टि छायामा परेको कारण समुद्रबाट नजिक भएर पनि पनि हिमालले वाफिलो हावा रोक्ने हुँदा यहाँ वार्षिक २५ सेन्टिमिटर भन्दा कम पानी पर्दछ ।
मार्फा शब्द ‘मार्’ र ‘फा’ मिलेर बनेको छ । ‘मार्’ को अर्थ मिहेनती र ‘फा’ को अर्थ जनता हो । थकाली जातीको घनावस्ती रहेको मार्फा गाउँ स्याउ खेतीको लागि प्रख्यात रहेको छ । ३ शताब्दी अगाडिसम्म हालको पुरानो मार्फामा मात्र मानिसहरु बस्ने गर्दथे । पुरानो मार्फा बिदेशीहरुको माझ ओल्ड मार्फाको नामले प्रख्यात छ, जहाँ स्याउका ठूला बगैचाहरु छन् ।

परापूर्वकालमा माथिल्लो भेगमा पानी घट्ट नभएकोले मानिसहरुलाई अन्न पिस्न हालको नयाँ मार्फा अर्थात फेदीमा झर्नुपर्ने हुँदा निकै कठिन हुने गर्दथ्यो । सुबिधाका लागि त्यसपछि मानिसहरु क्रमिक रुपमा तल झर्न थाले र हालको मार्फा गाउँमा बस्ती बसेको हो । फेदीबाट २ घण्टा हिडेर पुगिने परानो मार्फामा मुस्किलले दुई घर मात्र रहेका छन् र बाँकी सबै पुरानो मार्फा स्याउ खेतीले भरिभराउ छ । मार्फा गाउँको दक्षिण भेगमा तिब्बतियन शरणार्थी क्याम्प र छाइरो गोम्पा नाम गरेको गुम्बा रहेको छ । हरेक घर माथि पुरानो चलन अनुसार दाउराको चाङ राखिएको देख्न सकिन्छ ।

स्याउ अनुसन्धान केन्द्र
इलामको चिया बारीमा पर्यटन देखिए झै मार्र्फामा पनि स्याउ हेर्न आउने पर्यटकहरुको भदौ र असोजमा ओइरो लाग्छ । मार्फा आजभोलि एप्पल टुरिजमको रुपमा विकसित हुँदै गइरहेको छ । भदौको अन्त्यतिर स्याउ गुलियो हुनथालेपछि बगानभरि नै यसको मिठो वासना आउँछ । स्याउको राजधानी भएको कारण नै यहाँ स्याउको अनुसन्धान लागि शितोष्ण बागवानी विकास केन्द्र रहेको छ । बागवानीको स्थापना २०२३ सालमा भएको थियो ।

मार्फामा ४१ प्रकारका स्याउको अनुसन्धान पुरा भए पनि मार्फाको माटो सुहाउँदो ४ प्रकारका स्याउको मात्र व्यवसायिक खेती गरिएको छ । रेड डिलेसियस, रोयल डिलेसियस, रिच ए रेड र गोल्डन स्याउको खेती धेरै गरिएको छ । गोल्डन एप्पल अमिलो हुने हुँदा यसबाट माडा, सुकुटी र रक्सी बनाउने गरिन्छ । केन्द्र आफैले पनि स्याउबाट एप्पल ब्राण्डी तथा साइडर लगायतका मदिरा उत्पादन गर्दै आएको छ । रोपेको ५ वर्षमा स्याउको बोटले फल दिन शुरु गर्दछ । ६ देखि ८ वर्षसम्म करिब २ किलो फल दिएपछि ८ औं वर्ष पछि भने एउटै बोटले १५० केजी भन्दा बढी फल दिन्छ । माघमा फूल लग्ने स्याउमा असोजमा रातो र पहेंलो रङको पोटिलो दाना भए पछि टिप्न तैयार हुन्छ । ज्याम र जुस बनाउ उच्च गुणस्तरको स्याउ र रक्सी बनाउन भने कम गुणस्तरको स्याउको प्रयोग गरिन्छ । रातो स्याउबाट प्राय जुस तथा ज्याम र पहेंलोबाट भने मदिरा बनाइन्छ ।


खर्च र बसाई :
पोखराको जिरो किलोमिटरबाट हरेका बिहान ७ बजे म्याग्दी यातायात प्रालिको बस लगायत जिपहरु छुट्ने गर्छन् । बसको भाडा रु ११०० र जीपको रु १७०० तोकिएको छ । दिउँसो ५ बजेभित्र जोमसोम पुगिन्छ । जोमसोम पुग्नु करिब आधा घण्टा अगाडि मार्फा गाउँ आइपुग्छ । मार्फा गाउँमा २ दिन बसेर पोखरा फर्किदा रु ७००० खर्च हुन्छ । मार्फाबाट फर्किदा त्यहाँको कोशेली घरबाट मुस्ताङे कालो सिमीको दाल, खुर्सानीको छोप तथा एप्पल ब्राण्डी खरिद गर्न सकिन्छ ।  फोटोः सुरज

Related News

सम्बन्धित समाचार

hero news full width