रारा : सुन्दरतालाई माथ दिने अप्सरा … (फाेटाे फिचर)

Suraj Hazare Dahal
श्रावण २५, २०७६
RARA 1

प्रकृतिले दिएका सुन्दर उपहारहरु मध्ये एक हो रारा ताल । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । मानववस्तीबाट निकै टाढा रहेकोले फोहोर र कोलाहलबाट मुक्त यस तालमा नांगो आँखाले तालभित्रका ससना ढुंगा पनि देख्न सकिन्छ । तालको पूर्वी किनार हल्का निलो रंगको देखिन्छ भने सल्लाको रुखहरु रहेको निकुञ्जतर्फको पानी भने हरियो देखिन्छ । पानीको छाल किनारतर्फ बगेसँगै छेउमै आउँछन् हिमालयन ट्राउट माछा । यहाँ अन्यत्र नपाइने ३ प्रकारका असला माछाहरु पनि पाइन्छन् । क्षेत्रफलको हिसाबले रारा नेपालको सबैभन्दा ठूलो ताल हो । यो ताल समुद्री सतहबाट २९९० मिटरको उचाईमा अवस्थित छ । कुल ९.८ वर्ग किमी क्षेत्रफलमा फैलिएको राराको लम्बाई ५ किमी, चौडाई ३ किमी र गहिराई १६७ मिटर रहेको छ ।


अन्य बेला केहि न्यानो हुने भए पनि पुष र माघ महिनामा भने रारा क्षेत्रले हिउँको तन्ना ओढ्ने गर्छ । गर्मी सकिएर दशैंकाे आसपास रंगिविरंगी फूलहरु फुल्न थाल्छन् । मौसम खुलेको दिन असोज र कार्तिक महिनामा कान्जिरोवा र सिस्ने हिमालको छायाँ रारामा देखिन्छ । दिउँसो १२ बजेको आसपासदेखि ३ बजेसम्म तालमा छाल सक्रिय हुन्छ । सो बेला छालले ल्याएका सेता रंगका आकर्षक ससना चिप ढुंगाहरु किनारमा थुप्रिन्छन् । राजा महेन्दले रारा तालको भ्रमण गरेपछि यो चर्चामा आएको थियो । सडकले सञ्जालले नछोएकै बेला विसं २०२० सालमा घोडा चढेर मुगुमा शिकार खेल्न आएका राजा महेन्द्रले सल्लाको रुख मुनि बसेर कवितामा रारालाई उतारेर स्वर्गकी अप्सरा भन्दै प्रशंसा गरेका थिए । उनले यहाँ आएपछि “सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा रारा कि अप्सरा” भनि २०२० साल चैत १० गते कविता फुराएका थिए । आगन्तुकहरुले इतिहास नभुलून् भनेर काठमा कुँदेर उनको कवितालाई तालको डुंगा घाटमा राखिएको छ ।


मध्यान्ह १२ बजेपछ तालमा छाल सक्रिय हुने हुँदा बिहान ६ बजेदेखि चल्ने नेपाली सेनाका रबरका डुंगाहरु मध्यान्हसँगै रोकिन्छन् । त्यसपछि निलो रारामाथि डुंगा होइन तर छाल सलल बग्न थाल्छ । नेपाली सेनाले सर्वसाधरणको लागि बिहान ६ देखि दिउँसो १२ बजेसम्म रबरको डुंगा चलाउने गर्दछ । जलबिहार गर्नको लागि तालको संरक्षण गर्दै आएको सेनाले ४ वटा रबरको डुंगा संचालन गरेको छ । तालको पश्चिमतिर दुई घण्टा उकालो लागेपछि मुर्माटप आइपुगिन्छ । त्यहाँबाट ताल पूर्ण आकारमा देखिन्छ । मुर्माटपसम्म दुई हजार तिरेर घोडा चढेर पनि जान सकिन्छ । मुर्माटप आसपास केही होमस्टेहरुपनि रहेका छन् । ति होमस्टेहरुमा मार्सी चामालको भात, लोकल कुखरा तथा कर्णालीको सिमीको तरकारी तथा सिस्नोको फाँडोले जिब्रो लठ्ठपार्छ ।
तालको आसपासको जंगलमा ५१ प्रजातीका स्तनधारी जनावर र २१४ प्रजातीका चरा पाइन्छन् । हिउँद लागेपछि यहाँ चिन र रुसबाट कमनकुट नाम गरेको पाहुना चरा तथा विभिन्न प्रजातीका बकुल्ला र हाँसहरु हजारौं माइल पार गरेर आउँछन् र चरा कोरलेर बर्षा हुनु अगाडि फेरि बचेरासँगै फर्किन्छन् ।

रारा ताललाई संरक्षण गर्ने अभिप्रायले २०३४ सालमा यहाँका १७२ घर परिवारलाई विस्थापित गरि बाँके जिल्लाको गाभर भ्याली स्थित समथल चिसापानीमा स्थान्तरण गरिएको थियो । बस्ती हटाएपछि ताल र आसपास समेटेर रारा निकुञ्ज घोषणा गरिएको थियो । रारालाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रमा विसं २०६४ असोज ६ मा सूचिकृत गरिएको थियो । रारा तालमा निकुञ्जको अनुमति लिएर होटल डाँफे र भिलेज रिसोर्ट खुलेका छन् ।
यात्रा र खर्च : पोखराबाट साँझ ३ बजेको डिलक्स बसबाट नेपालगंज पुगेर भोलिपल्ट आधा घण्टामा हवाइ जहाज मार्फत ताल्चा बिमानस्थल पुग्न सकिन्छ । अथवा नेपालगञ्जबाट २ दिनको बस यात्राबाट ताल्चा बिमानस्थल अगाडिको सडकमा ओर्लिएर निकुञ्जभित्रबाट ३ घण्टा हिंडेपछि रारा ताल आइपुगिन्छ । एक हप्ताको यात्रा गर्दा करिब रु २० हजारदेखि रु २५ हजारसम्म खर्च लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width