विद्युत आयोजनाको लापरवाहीले जनधनको बढी क्षति

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७६
Dordi bitanda 5

लमजुङ । लमजुङको दोर्दी करिडोरका गत साता (साउन ८ गते) आएको बाढीमा भएको जनधनको बढी क्षति निर्माणाधीन विद्युत आयोजनाहरूको लापरवाहीका कारणबाट भएको खुल्न आएको छ । निर्माणाधिन विद्युत आयोजनाको बाँध निर्माण स्थल दुर्गम क्षेत्रमा पर्ने भएको र जो कोहीको हत्तपत्त नजर नपर्ने र नजर पुगेकाहरूलाई पनि निमयले भन्दा पनि अन्य तौर तरिकाले उनीहरूको चित्त बुझाईने गरेका कारण जनधनको बढी क्षति हुन गएको निष्कष एफपिआइसी तथा अधिकार मञ्चले ठहर गरेको छ ।

एफसिआइसी तथा अधिकार मञ्चका जिल्ला अध्यक्ष खेमजंग गुरुङ र सचिव चन्द्रबहादुर मिश्रले बाढी ग्रस्त क्षेत्रको अनुगमन पश्चात संयुक्त विज्ञप्ति प्रकाशन गरी विद्युत आयोजनाको हेल्चक्र्याईका कारणले गर्दा जनधनको बढी क्षति भएको किटान गरेका छन् । जारी विज्ञप्तिमा घटनाको दश दिन बितिसक्दा समेत त्यसको मूलकारण पत्ता लगाउनमा आयोजनाका निर्माण कम्पनी तथा यस क्षेत्रका जनप्रतिनिधिले चासो नदेखाउनु लापरवाहीको अर्को उदाहरण हो विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा ‘परियोजना सञ्चालन पूर्व गर्नुपर्ने सामान्य नियमको पालना तथा गर्नु पर्ने पूर्वाधार तयारीको काम नगरी हचुवाका भरमा आयोजनाको निर्माणको काम अघि बढाएका कारणले जनधनको बढी क्षति हुन गएको हाम्रो ठहर छ ।’ भनिएको छ ।

निर्माणाधिन परियोजनाका कामदारको सुरक्षा तथा आयोजनामा प्रयोग हुने उपकरणको सुरक्षामा सामान्य ध्यान समेत नदिएको कारणले गर्दा त्यस्तो क्षति हुन भएको उल्लेख गर्दै थप मानिसको ज्यान गएको हुन सक्ने आंकलन गरिएको छ ।

परियोजनामा काम गर्ने कामदारको संख्या एकिन नहुनु, उनीहरूका लागि बनाइएको आवास स्थल नदी किनारबाट निश्चित दुरीमा हुनु पर्नेमा नदीको बीचभागमा रहेको टापुजस्तो स्थानमा बनाइनु, परियोजनाको निर्माणस्थलदेखि दोर्दी खोलाको मुहानसम्म कतै पनि ‘अर्लि वार्निङ सिस्टम’ नराखिएका कारण त्यस्तो दुःखद घट्ना हुन गएको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, स्थानीय व्यक्तिहरूको हवाला दिदै सो विज्ञप्तिमा भनिएको छ, ‘परियोजनाका सञ्चालकहरूले उक्त नदीको इतिहास जानेका व्यक्तिहरूलाई रेखदेखका लागि नराख्नु, माछामार्ने मानिसले खोलामा दुवाली छेकेझैँ गरी खोलालाई छेकेर काम गर्नु, संरचना निर्माण गरिएको स्थानमा आजका दिनसम्म पनि उत्खनन्को प्रयास गरी वस्तुस्थितिको पहिचानतर्फ ध्यान नदिनु आयोजनावालाहरूको लापरवाही उदांग भएको देखिन्छ ।’

यसैगरी, सुरक्षा र सञ्चारसँग सम्बिन्धत गर्नु पर्ने सामान्य पूर्वाधारको काम समेत नगरिएका कारणले त्यस्तो दुर्घटना भएको र अझै पनि तीकाममा ध्यान नदिए भोलिका दिनमा झनै ठूलो क्षति हुन सक्ने चेतावनी दिइएको छ ।

सबैभन्दा ठूलो कमजोरी परियोजना क्षेत्रमा के कति कामदारले काम गरिहेका थिए भन्ने तथ्यांक एकिन नहुनु, कामदारको बीमा नगरिनु लापरवाहीको पराकाष्टा भएको विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width