दोर्दीमा बाढीले बगाई फेला परेका चारै शवको पहिचान

छ जनाको अवस्था अज्ञात,

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७६
Dordi 2 – 1

लमजुङ, ९ साउन । लमजुङको दोर्दी खोलामा आएको बाढीले वगाएर मृत भेटिएका चार शव मध्ये सबैको सनाखत भएको छ । सो बाढीमा परेका अन्य ६ को अवस्था अज्ञात छ भने छ जना उपचाररत रहेको प्रहरीले जनाएको छ ।

यतिबेला हराएका मानिसहरू खोज्ने काम मात्र भएको छ । अन्य नोक्सान वा बाढी के कसरी आएको हो भन्ने एकिन गर्नेतर्फ ध्यान दिन नसकेको प्रहरीले जनाएको छ । दोर्दी करिडोरका विद्युत आयोजनाका कामदार खोलामा बुधबार मध्यान्ह २.३० बजे एक्कासी आएको बाढीले उनीहरूलाई बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको शव जिल्ला सदरमुकाम ल्याई लमजुङ जिल्ला अस्पताल बेसीशहरमा शल्यपरीक्षण लागि पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्र गुरुङले बताए ।

उनका अनुसार आफूसहितको उद्दार टोली माथिल्लो दोर्दी ए आयोजनाको बाँध स्थलमा पुगेको छ र त्यहीबाट थप खोजी कार्य शुरु गरिएको छ । दोर्दी हिमनदी भएको हुँदा कति माथिबाट बाढी वा पहिरो आएको भन्ने तत्काल एकिन गर्ने सक्ने अवस्था छैन, हामी सबैको ध्यान हराएका मानिस खोज्ने काममा मात्र केन्द्रित भएको छ ।

दोर्दी गाउँपालिका– ६ को कीर्तिपुरबेसीमा भेटिएको शव डडेल्धुराको आलिताल गाउँपालिका– ६ का अन्दाजी ३५ बर्षीय रमेश बुढा मगरको भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्त पाण्डेले बताए । उनका अनुसार दोर्दी गाउँपालिका– ४, नौथर शेरामा भेटिएका २ जनाको शवमध्ये १ जना पर्सा जिल्लाका पर्सा जिल्ला पोखरीया नगरपालिकाका अन्दाजी ३० वर्षीय शिवधन चौधरी र अर्का बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका अन्दाजी ३५ बर्षीय सइद अन्सारी भएको प्रहरीले जनाएको छ । शेराकै माथिल्लो भेगमा भेटिएको शव सप्तरी जिल्ला सप्तकोशी नगरपालिका– ८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरीको भन्ने खुलेको छ । ती सबैको जिल्ला अस्पतालमा पोष्टमार्टम थालिएको छ र उनीहरूका परिवारजनलाई खबर गर्ने काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला अस्पताल बेसीशहरमा उपचार भइरहेको छ । घाइतेमध्येका तीन जानको डिस्चार्ज भएको, ३ जिल्ला थप उपचारका लागि काठमाडौं गएको र तीन जना जिल्ला अस्पतालमा रहेका छन् । उनीहरू सुपरदोर्दी इन्भेष्टमेन कम्पनीमा काम गरेका व्यक्ति रहेछन् । ती घाइतेमध्येका जिल्ला अस्पतालमा उपचाररत कैलालीको घोडाघोडी नगरपालिका– ११ सिर्सैया टोल निवासी कनैयालाल चौधरीले आफूहरूको १६ जनाको टोली साउन १ गतेदेखिमात्र काममा लागेको बताए । उनका अनुसार कोही सुरुङ भित्र कोही सुरुङ बाहिर काम गरिरहेका थियौं, एक्कासी बाढी आयो, हामीले के गर्ने कसो गर्ने भयौं, आफैले ढुंगा बनाएर बाहिर निस्कन सफल भयौं । घुडामा अलिक ठूलो र अन्य शरिरका केही भागमा चोट छ चौधरीले बताए । आफूहरू तीनजनामात्र घाइते भएको अन्य घाइतेहरू यो आयोजनाको नभएको उनीहरूले बताए ।

बाढीबाट बेपत्ता भएका ७ जनाको खोजी कार्य विहीबार सबेरैदेखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । उनका अनुसार बेपत्ताको बिहानैदेखि सुरु गरिएको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयहरू सहभागी भएका छन् । बाढी आउनुको मुख्य कारण यही हो भनेर पत्ता लगाउन सकिएको छैन, त्यसको प्रयास भएको छ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवद्र्धक टिबर्टी इनर्जी कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बाढीले जन धनको क्षति भएको स्वीकार गरे । उनका अनुसार दोर्दीखोलाको मुहान माथि पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीमा परेर बेपत्ताहरूको खोजी थालिएको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । दोर्दी खोलामा ५४, २७, २५, १२ मेगावाटका चार जलविद्युत आयोजनाको निर्माणाधीन छन् । ती आयोजनाको निर्माण कार्य ७० प्रतिशतभन्दा बढी पुरा भइसकेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width