आरोहण व्यवस्थापनमा शून्य पोखरा

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
Peak Climbing_Fotor

अन्नपूर्ण प्रथम र अन्नपूर्ण साउथ आरोहणका लागि प्रस्थान गर्नुअघि पोखरामा तस्वीर खिचाउँदै फ्रान्सेली आरोही दलका सदस्य । तस्वीर : रुपनारायण

पोखरालाई नेपालको पर्यटकीय राजधानी भन्ने गरिए पनि आरोहणको व्यवस्थापनका लागि यो शहरमा एउटै पनि एजेन्सी र गाइड नहुँदा काठमाडौंकै भर पर्नुपर्ने अवस्था छ ।

सन् १९५० मा फ्रान्सका मौरिस हजोर्ग लगायतको टिमले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल चढेपछि नेपालमा आरोहणको वास्तविक इतिहास शुरुवात भएको थियो । त्यसको ३ वर्षपछि सन् १९५३ मा मात्र एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेले सगरमाथा आरोहण गरेका थिए ।

आठ हजार मिटरभन्दा अग्लो हिमाल सबैभन्दा पहिला यस क्षेत्रको अन्नपूर्ण चढिए पनि त्यसैको फेदी पोखरामा एउटा पनि आरोहणसम्बन्धी कम्पनी नहुनु लाजको विषय भएको छ । खासमा नेपालको पर्यटन आरोहण र पदयात्राबाट नै शुरुवात भएको हो । पदयात्रा व्यवस्थापनका लागि पोखरामा दर्जनौं एजेन्सी भए पनि आरोहणका लागि भने राजधानीका एजेन्सी मार्फत् नै यस क्षेत्रका हिमाल चढ्न आरोहीहरु आउने गरेको नेपाल पर्वतारोहण संघ (एनएमए) अन्नपूर्ण च्याप्टरका अध्यक्ष कृष्णप्रसाद काफ्लेले बताए ।

माउन्टेनेयरिङ सम्बन्धी गाइड अभावमा पोखराबाट आरोहणसम्बन्धी प्याकेज बुक गर्न सकिएको छैन ।

मुख्यगरी माउन्टेनेयरिङसम्बन्धी गाइड अभावमा पोखराबाट आरोहणसम्बन्धी प्याकेज बुक गर्न नसकिएको उनले सुनाए । यस क्षेत्रमा आरोहण पनि कम हुने गरेको र शेर्पा गाइडहरु पनि पूर्वतर्फ र काठमाडौंमै बढी केन्द्रित भएका कारण पश्चिमको आरोहण ओझेलमा परेको बुझाइ उनको छ ।

आरोहीलाई गाइड गर्ने मामलामा शेर्पाहरु अग्रपंक्तिमा छन् । यस्तै अनुभवी शेर्पाको अभावमा यसक्षेत्रबाट आरोहण व्यवस्थापन नभएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका साधारण सदस्य पासाङ ग्याल्जेन शेर्पाले सुनाए । होचो उचाइका सामान्य हिमालका लागि मात्र यस क्षेत्रबाट आरोहण व्यवस्थापन हुने गरेको तर ठूला र अग्ला हिमालमा हुने स्ट्याण्डर्ड एक्सपिडिसनको व्यवस्थापनमा भने काठमाडौंमै निर्भर हुनुपरेको उनले बताए ।

पोखरा क्षेत्रबाट माछापुच्छ्रे बाहेक यस क्षेत्रका सबैजसो हिमालहरु आरोहण हुने गरेका छन् । अन्नपूर्ण नाम जोडिएका हिमालहरु, धौलागिरि, मनाश्लु, सिस्ने हिमाल, गुर्जा हिमाल, लमजुङ हिमाल लगायत थुप्रै हिमालको आरोहणका लागि पोखरा क्षेत्रबाट जान सकिने उनले सुनाए । एनएमए अन्नपूर्ण च्याप्टरका अध्यक्ष काफ्लेले पोखरास्थित इन्टरनेश्नल माउण्टेन म्यूजियममा उनको संस्थाले आरोहीका लागि परमिट प्रदान गर्न २ वर्षसम्म काउण्टर नै राखेको भए पनि आरोही नआउँदा त्यो चल्न नसकेको यथार्थ सुनाए । आरोही काठमाडौंमा नै पहिला आउने, शेर्पाहरुले पनि पूर्वतर्फ नै आरोहणका लागि जोड गर्ने र आरोहणका लागि बढी मात्रामा सगरमाथा छनौटमा पर्ने कारणले पनि उक्त काउण्टरको सेवा हालका लागि स्थगित गरिएको उनले जानकारी दिए । सर्वोच्च शिखर सगरमाथा, मनाश्लु, धौलागिरी, अन्नपूर्ण प्रथम लगायत झण्डै १० हिमाल सफलतापूर्वक आरोहण गरेका युवा आरोही मिङ्मा शेर्पाले अन्नपूर्ण क्षेत्रको प्रवद्र्धन गर्दै सो क्षेत्रमा आरोही तथा पदयात्री बढाएर सिंगो देशले लाभ लिन सक्ने अनुभव सुनाए । एक जना व्यक्तिले हिमाल आरोहण गर्दा कम्तीमा १५ हजार देखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने भन्दै उनले यस्तो खर्चले देशलाई समृद्ध बनाउन मद्दत पुग्ने बताए । आरोहणसम्बन्धी गाइड टेन्डी शेर्पाले पोखरा र यस क्षेत्रका हिमालहरु सुन्दर रहेको सुनाउँदै पोखराले पनि आरोहण व्यवस्थापनसम्बन्धी कामहरु गर्न अग्रसरता देखाए सम्भावना राम्रो भएको बताए ।

नेपालमा ८ हजार मिटरभन्दा बढी उचाइका ८ वटा हिमालचुली रहेका छन् । यी सबै हिमाल आरोहणको अनुमति पर्यटन विभागले दिने गरेको छ । नेपाल पर्वतारोहण संघका अनुसार नेपालमा ५ हजार ८ सय मिटरभन्दा अग्ला १ हजार ७ सय ९२ हिमाल चुचुरामध्ये १ हजार ३ सय ८९ हिमाल आरोहणका लागि अझै खुला छैनन् । केवल ४ सय ३ हिमाल चुचुराहरू मात्र आरोहणका लागि खुला छन् । छ हजार ५ सय मिटरभन्दा कम उचाइका २७ वटा चुचुराको प्रवद्र्धन तथा आरोहणको जिम्मा भने पर्वतारोहण संघले लिँदैआएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width