पुनःनिर्माणलाई प्रभावकारी बनाउन जोड

आदर्श समाज सम्वाददाता
असार ३१, २०७६
barpark

म्याग्दी,३१ असार । विनाशकारी भूकम्प पछिको पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा संचालन गर्न म्याग्दीका सरोकारवाला निकायहरुले जोड दिएका छन् ।

जिल्लामा निर्माणाधीन अवस्थामा रहेका निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा द्रुत गतिमा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई म्याग्दीले बेनीमा आयोजना गरेको चालु आर्थिक वर्ष २०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमको समीक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले पुनःनिर्माण कार्यलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । उनीहरुले नक्कली भूकम्पपीडितहरुका कारण पुनःनिर्माणलाई प्रभावकारी रुपमा सञ्चालन गर्न चुनौती थपिएको बताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसीले पुनःनिर्माणको कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु जिम्मेवार भएर लाग्न अनुरोध गरे । सांसद केसीले कुनै पूर्वाग्रह नराखी वास्तविक भूकम्प पीडितलाई सिफारिस गर्नुपर्नेमा जोड दिए ।

पुन सर्वेक्षणमा सवै सरोकारवालाहरु जिम्मेवार भएर पुनःनिर्माणमा सहयोग गरे लक्ष्य भन्दा अगावै म्याग्दीमा पुननिर्माण कार्य सम्पन्न गर्न सकिने उनले आशा व्यक्त गरे ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नक्कली भूकम्प पीडितहरुले बलजफ्ती गरेर सक्कली भूकम्पपीडित हुन खोजेकाले पुननिर्माणमा चुनौती थपिएको बताए ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पुनःनिर्माण कार्य पहिलो सिकाई भएकाले पनि कार्यन्वयनमा जाँदा समस्या आएको बताउँदै उनले समाधान तर्फ सवैको ध्यान पुग्नुपर्ने बताए । एकीकृत वस्ती विकास र दिगो भू–उपयोग नीति बनाएर असुुरक्षित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर गर्न स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजना कार्यन्वयन इकाईका प्रमुख शिवराम गेलालले कार्यालयबाट सम्पादन भएको गत साउनदेखि असार सम्मको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, आयोजना कार्यान्वयन इकाईका नायब सुव्बा चित्रनाथ शर्माको सञ्चालन र लेखाअधिकृत रामप्रसाद शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width