पहिरोको जोखिममा भोंजे गाउँ

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
Bhoje Pahiro@Lamjung

लमजुङ, ३० असार । लमजुङको एउटा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । क्व्होलासोंथर गाउँपालिका– ७ भोंजे गाउँ पहिरोको जोखिममा परेको हो ।

उक्त गाउँमा पहिरो जान थालेको तीन दशक भयो, तर त्यसको उचित रोकधामको प्रवन्ध नगरिदा गाउँलेलाई हरेक वर्ष वर्षायाममा पिरलो थपिने गरेको छ । स्थानीयबासी भन्छन्, ‘अब त गाउँ नै स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जिएको छ । आफ्नो गाउँ जोगाइदिन भोजेबासीले गरेको हारगुहारको खासै सुनुवाई नभएको स्थानीय टेकबहादुर गुरुङले बताए । उनी भन्छन्, ‘गाउँटोल र बस्ती एउटै, सवै आफन्त भएकाले पनि सामाजिक, सांस्कृतिक रूपमा छुटिनलाई सहज भने छैन ।’

भोंजेमा बर्षेनी गइरहने पहिरोले स्थानीय विस्थापित हुन बाध्यछन् । कुशबहादुर गुरुङलगायत पाँच परिवार पोखरामा बसाइँ सरेका छन् । कोही आफन्तको शरण लिन बाध्य छन् । पानी पर्न थालेपछि यो वर्ष पनि विगत वर्षहरूकै जस्तो पिरलो दोहोरिएको उनीहरूले बताएका छन् ।

आफ्नो ज्यान, घर, खेतबारी जोगाउन उनीहरूले सरकारलाई भनेको दुई दशक बितिसकेको छ । गाउँको सबैभन्दा पुछारमा मैखु गुरुङको घर छ । उनले भनिन्, ‘पहिरोले उनको घर चर्किएको छ, आँगन भासिएको छ ।’ उनका अनुसार आफूले हरेक बर्ष बर्षायाममा आमा समूहको भवनमा बिताउने गरेको छु । त्यो घर नजिकै रहेको अर्को सुलबहादुर गुरुङको घर पनि पहिरोको उच्च जोखिममा छ । वर्षायाम सुरु हुनसाथ उनले काजीमान गुरुङको घरमा विताउने गरेको धेरै वर्ष भएको बताए ।

अहिले भोंजे गाउँका केही घरलाई स्थानान्तरणको प्रक्रियामा लगिएको छ । तर, पहिरोबाट सबैभन्दा बढी प्रभावितहरूको नाम स्थानान्तरणको सूचीमा परेको छैन । भोजे गाउँबाट स्थानान्तरण गर्ने भनिएको १४ घरमा मैखु र सुलबहादुरको नाम सो सूचीमा परेको छैन । मैखुले भने, ‘हामीलाई अहिले हुँदैन, नाम छैन भन्छ । बर्षा लाग्यो, बगाउला भन्ने पीर भयो ।’
पुनःर्निर्माण प्राधिकरणको अनुदान सहयोगपछि स्थानान्तरण हुनेमा १४ घर परेको वडासचिव तक्मा विकले बताए । उनका अनुसार कुमबहादुर गुरुङले किस्ता रकम बुझेर पोखरामा घर बनाई बसिसकेका छन् ।

टेकबहादुर गुरुङले गाउँ नजिकै साल्मेमा घर बनाउँदै छन् । उनले पहिलो किस्ता ५० हजार रुपैयाँ बुझिसकेका छन् । उनले भने, ‘आफ्नो यतिबेला बौद्धप्रसाद गुरुङको घरमा बसेको छ ।’ प्राधिकरणले आफ्नो जग्गा भएमा ३ लाख र जग्गा नभएमा जग्गाको लागि थप २ लाख रुपैयाँ स्थानान्तरणको सूचिमा गरेकाहरूलाई दिने जानकारी आएको वडा सचिव विकले भने । उनका अनुसार वडाबाट भोजे गाउँका कुल ५६ घरमा स्थानान्तरण सिफारिस गरिएको थियो । तर तीमध्ये १४ घरको मात्रै प्रमाणित भएर आएको विकको भनाई छ । उनका अनुसार प्रमाणित नभएकामा सवैभन्दा बढी जोखिमका मैखु र सुलबहादुर गुरुङको घरसमेत छन् ।

स्थानान्तरण सूचीमा परेका एकजनाले भोजे बेसीमा, तीन जनाले रामबजारको पिप्लेमा र बाँकीले साल्मेमा घर बनाउने तयारी गरेका छन् सचिव विकले बताए । उनले भने, ‘बर्षा लाग्यो, सबै आफ्नो खेतीपाली लगाउने काममा व्यस्त । सम्झौताको लागि वडा कार्यालय आउनुपर्छ तर उहाँहरु कामको चटारोले आउनु भएकै छैन ।’ कामको चटारो हुने यही बेला स्थानान्तरण गर्ने भनिएको छ । लाभग्राही सूचीमा नपरेका १६ जनाको पनि स्थानान्तरण प्रक्रियामा रहेको विकको भनाई छ ।

भोजेगाउँबासीलाई स्थानान्तरणको सूचीमा पार्न पछि २४ घर सिफारिस गरिपठाइएको पुनःर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका निमित्त प्रमुख जगदीश मिश्रले बताए । उनका अनुसार केन्द्रबाट आएको टोलीले सही डाटा नलिँदा अहिले समस्या भएको हो । उनले भने, ‘स्थानीयले सबै लाभग्राही सूचीमा आएपछि घर बनाउने भनेका छन् । सबै पर्नलाई ढिलो हुने भयो’ उनी भन्छन् ‘पहिरोको मुखैमा घर हुनेको नाम समेत स्थानान्तरण हुने सूचीमा परेको छैन, उनीहरूलाई दुःख लाग्नु स्वभाविक हो ।’

Related News

सम्बन्धित समाचार

hero news full width