हिमशिखरलाई अध्यक्ष कप उपाधि

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
phedkhola_Fotor

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ फेदीखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजना गरिएको दोस्रो अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको फाइनलमा माछापुच्छ्रे युवा क्लबलाई सडन डेथमा पराजित गर्दै हिम शिखर क्लबले उपाधि जितेको छ। उसले उपाधिसहित ३० हजार उपविजेताले २० हजार साथमा ट्रफी, प्रमाणपत्र हात पारे।

फेदीखोला गाउँपालिका वडा १ स्थित दामगाडे मावि खेल मैदानमा भएको प्रतियोगितामा १२ टिमको सहभागिता थियो।

प्रतियोगितामा वेष्ट प्लेयर उपाधि माछापुच्छ्रेका सुनिल गुरुङले जिते। यस्तै, वेष्ट गोलकीपर हिम शिखरका प्रकाश परियार र हाइ स्कोरर अजय कार्की बने।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापनमा स्याङ्जा क्षेत्र १ बाट संघीय संसदमा निर्वाचित नारायणप्रसाद मरासिनीले स्वास्थ्यका लागि खेल आवश्यक रहेको बताए। उनले अब सिंगो खेलकुद क्षेत्रलाई स्वास्थ्यमात्र नभएर एकता र समृद्धिसँगसँगै जोडेर लैजानु पर्ने बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य खड्कबहादुर रानाभाट, प्याब्सन केन्द्रिय उपाध्यक्ष पुष्पराज बराल, प्याब्सन गण्डकी प्रदेश उपाध्यक्ष हर्कबहादुर कार्कीलगायत खेलप्रेमीका उपस्थिति थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापाले मन्तव्य राखेकी थिइन्।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद परिषद सदस्य राजन पराजुलीले गरेका थिए।

प्रतियोगिता उद्घाटन गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width