कमालको कमल ताल

आदर्श समाज सम्वाददाता
असार १, २०७६
kamal lake_Fotor

पोखरा–१३, बाँझापाटन नजिक रहेको कमल ताल तीन दशक अघिसम्म बुडुवा तालको नामले चिनिन्थ्यो। तालले धर्म र पर्यटनलाई जोडेको छ।

लेखनाथका ७ र पोखराको फेवा गरी कास्कीलाई ८ तालको जिल्लामा मानिन्छ। तर पोखरेली जनसंख्याको ठूलो हिस्सालाई थाहा छैन, फेवाबाट केही किलोमिटरको दुरीमा अर्को ताल पनि रहेको छ।

बजारबीचमै लुक्न पुगेको यो ताल हो, बुडुवा ताल अर्थात् कमल ताल। जसलाई कमलपोखरी नामले समेत चिन्ने गरिन्छ। पछिल्ला वर्षहरुमा यही कमल तालको संरक्षण गरी आयआर्जनको माध्यम बनाउने अभियानमा स्थानीय दलित समुदाय कम्मर कसेर लागेका छन्। उनीहरुलाई अन्य समुदाय र सरकारी तथा गैरसरकारी निकायको समेत साथ मिल्न थालेको छ। ताललाई धर्म र पर्यटनको संगमस्थल बनाउने योजना उनीहरुको छ।

रामसार सूचीमा समेत परिसकेको कमल तालको समस्या माटो, गेग्रयान र करौती झारले पुरिँदै जानु रहेको छ। तर पोखरा महानगरपालिका– १३ बाँझापाटनसँगै रहेको यो तालबाट अहिले ९० प्रतिशत करौती झार हटाइसकिएको कमलपोखरी संरक्षण समिति अध्यक्ष चित्रबहादुर विकले जानकारी दिए। विकका अनुसार बर्खाको समयमा गेग्रयान बोकेर तालमा आउने बाँसखोलाको पुछारमा तटबन्द समेत निर्माण गरिएको छ। यसले धेरै हदसम्म ताल पुरिनबाट जोगिने निष्कर्ष समितिको रहेको छ। आय आर्जनमै टेवा पुगोस् भनेर तालमा एउटा प्याडल बोटको समेत व्यवस्था गरिएको छ। डब्लूडब्लूएफ हरियो बनले प्रदान गरेको ४ लाख र ५० हजार रुपैयाँ समितिको मिसाएर यो डुंगा खरिद गरिएको अध्यक्ष विकले जानकारी दिए।

पोखराको मुख्य बजार महेन्द्रपुलबाट ४ किलोमिटर दक्षिणपूर्वमा रहेको यो तालको संरक्षणका लागि पोखरा महानगरपालिका, पर्यटन कार्यालय पोखरा, पोखरा उपत्यका नगर विकास समिति, सरकारले गठन गरेको ताल संरक्षण समिति, तत्कालीन जिल्ला विकास समिति कास्की, जिल्ला वन कार्यालय र हरियो वनले आर्थिक सहयोग गरेको कमलपोखरी संरक्षण समितिका सचिव डिलबहादुर विकले जानकारी दिए। सिमेन्टको पर्खालमाथि जाली राखेर ताल घेराबन्दी गरिएको छ। यी सबै संस्था र श्रमदान गरी प्राप्त आर्थिक सहयोग जोड्दा ५० लाख रुपैयाँ नाघ्छ। अझै घेराबन्दीको काम पूरा गर्न बाँकी रहेको, ताल वरपर नाली र पैदलमार्ग निर्माणको काम सम्पन्न गर्न बाँकी नै रहेको सचिव विकले जानकारी दिए। यी सबै काम सम्पन्न भएपछि तालमा बढीभन्दा बढी पर्यटक आकर्षित गर्ने र वरपर रेष्टुराँ तथा होटल निर्माण गर्न प्रोत्साहन गर्ने सोच समितिको रहेको सचिव विकले सुनाए। सँगै जोडिएको जयकोट सामुदायिक वन चरा अवलोकनका लागि उपयुक्त छ। आठ मिटर गहिरो र ३२ रोपनी क्षेत्रफलमा रहेको तालको प्रमुख आकर्षण कमल पनि हो। त्यही भएर तालको नाम कमल पोखरी राखिएको हो। वर्खाको समयमा कमल झनै फस्टाउँछ र असार महिनासँगै फुल्न पनि थाल्छ। कमल फुल्दा तालको मनमोहकता झनै बढ्छ। जण्डिसका बिरामीका लागि जरा, पात र कमलको दाना औषधि हुने बताइन्छ। यसैका लागि कमलको जरा उखेल्ने क्रम बढेपछि आमा समूहको सक्रियतामा २०४८ सालदेखि त्यस्तो कार्य रोकिएको जनाइएको छ। केही वर्ष अघिसम्म तालका माछा मार्न करेन्ट र विष समेत प्रयोग गर्ने गरिएकोमा त्यो कार्य पनि हाल रोकिएको दाबी समितिको छ।

तीन दशक अघिसम्म बुडुवा तालको नामले बढी चिनिने ताल पछिल्ला वर्षहरुमा भने कमलपोखरीका नामले प्रख्यात छ। नागपञ्चमीका दिन यहाँ नागको पूजा हुन्छ र मेला लाग्छ। थप आकर्षणका लागि तालको बीचमा नागको विशाल मूर्ति समेत प्रतिष्ठापित गरिएको छ। ताल किनारमा विश्वकर्मा बाबा, दुर्गा, राधाकृष्ण र गणेश देवताको मन्दिर पनि बनाइएका छन्। नाग र विश्वकर्माको मूर्ति र मन्दिर दलित समुदायले नै बनाएका हुन्। ८०–८५ घरबाट चन्दा उठाइएको र श्रमदान पनि गरिएको समितिले जानकारी दिएको छ। समितिले २०४६ सालदेखि निरन्तर ताल संरक्षणको काम गर्दै आएको छ। यसले ताल पुरिनेक्रममा धेरै कमि आएको उसको दाबी छ। हस्तीमाया विकको अध्यक्षतामा कमल पोखरी आमा समूह गठन गरी महिलाहरुलाई समेत २०४८ सालदेखि ताल संरक्षणमा एकिकृत गरिएको छ।

ताल संरक्षणका लागि, द्यौसी भैलो कार्यक्रम, चन्दा संकलन र श्रमदान जस्ता अभियान पनि संचालन गरिएको थियो। समाजसेवी धनपति तिमिल्सिनासँग जग्गा माग गरी पाटी बनाउने, केशबहादुर विकको सक्रियतामा टिम बनाई ताल सिमांकनको काम र मेसिनरी वाल तथा रेलिङ निर्माणका काम समेत भएका छन्। दर्शनार्थीका लागि पाटी निर्माण भने केशबहादुर विकको निजी लगानी गरिएको थियो। तालसम्म पुग्ने बाटो निर्माणका लागि समाजसेवी धनपति तिमिल्सिना, कृष्ण गौतम (धैर्य) र शेरबहादुर कार्की लगायतका व्यक्तिहरुले जग्गादानसमेत गरेका थिए। समाजसेवी रामबहादुर पौडेल र पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्ष विश्वप्रकाश लामिछानले पनि आर्थिक विकासमा साथ दिई ताल संरक्षणमा सघाएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width