नेपाल पर्यटनको उत्कृष्ट मन्तव्य –प्रधानमन्त्री ओली

Avatar आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६

काठमाडौँ, २४ जेठ । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण विहीबारदेखि काठमाडौँमा सुरु भएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुदैं आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्रावल एशोसियसन (पाटा) ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

मार्टको विहीवार एक समारोहकाबीच उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य,जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए ।

उनले असिमिति पर्यटकीय प्रडक्डलाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको बताए । प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने विश्वास व्यक्त गरे । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिवद्ध रहको बताउँदै मार्टले नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको जानकारी दिए । नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास,नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे । नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए ।

पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधै साथमा रहको बताए ।

मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ्ग आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभुति चन्द ठाकुरले जानकारी दिए । सम्मेलनमा नेपाल सहित ४३ देशका करिब ७०० को सहभागिता रहेको छ । यसअघि सन् २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । सोल्टी क्राउन प्लाजामा विहीबार देखि शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

पत्रकार महासंघमा तालावन्दी