मापदण्डविपरीत बनाइएको होटलमा प्रधानमन्त्रीको ‘लञ्च ब्रेक’

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७६
kpoli

पोखरा महानगरपालिका क्षेत्रभित्र साढे ३ तलाभन्दा अग्लो भवन बनाउन नपाइने नियम छ। त्यो पनि फेवाताल किनार वरिपरि साढे २ तलाको मात्रै भवन बनाउन पाइन्छ। भूकम्पपछि नयाँ बस्ति विकास निर्देशिकाले जमिनको अनुपातमा भवनको उचाइ बढाउन पाउने व्यवस्था गरे पनि पोखरामा यो नियम लागू भैसकेको छैन। पोखराको भूगोल कमजोर रहेको भन्दै विज्ञहरुले अग्ला र धेरै भार हुने संरचना नबनाउन सुझाएका छन्। स्थानीय तहको चुनावपछि पोखराको भूगोल सुहाउने संरचनाको मापदण्ड बनाउन सुझाव समिति गठन गरेको थियो। इञ्जिनियर भरतराज पहारीको संयोजकत्वमा गठित समितिले सडक र भवन मापदण्ड तयार गरेर महानगरमा बुझाएको छ। तर त्यो मापदण्ड कार्यपालिकाबाट पास भएको छैन।

परिमार्जित मापदण्ड लागू नहुँदा पुरानै नियमभित्र रहेर संरचना बनाउनुपर्छ। तर उनै पहारीले प्रचलित मापदण्डलाई लत्याउँदै आलिसान महल ठड्याए। उनले बनाएको भवनको पूरै नक्सापास भैसकेको छैन। त्यही भवनमा होटल सरोवर सञ्चालन गरिएको छ। गएको पुस महिनादेखि नै सफ्ट ओपनिङ गरिएको यो होटलको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम थियो। यही कार्यक्रमका लागि सांसददेखि मन्त्री र व्यापारीहरुको समेत उपस्थिति थियो। तर अन्तिम समयमा ओलीले होटल उद्घाटन गरेनन्।

सुईट रुममा ‘मुड चेञ्ज तुरुन्तै’

तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ र नेपाल स्काउटको प्रथम राष्ट्रिय रोभर मुट कार्यक्रम उद्घाटन गर्न पोखरा आउने कार्यक्रम थियो। त्यही मौका छोपेर होटल सरोवर उद्घाटन कार्यक्रम तय गरियो। त्यसपछि प्रधानमन्त्रीको कार्यक्रम तालिकामा पहिलो कार्यक्रम थियो, यही होटल उद्घाटन। पौने १० बजे उद्घाटन कार्यक्रम थियो। प्रधानमन्त्री ओली केही ढिलो गरी होटल छिरे। लिफ्ट चढेर सीधै सातौं तलामा रहेको ७०१ नम्बरको प्रेसिडेन्सियल सुईट रुममा पुगे। जुन कोठा अति विशिष्ट पाहुनाका लागि बनाइएको हो। केहीबेर त्यहीँ आराम गरे। दशौं तलामा रहेको छतमा उक्लिएर पोखराको दृष्य नियाले। रुफटपमै बसेर लञ्च लिए।

२ घण्टाजति होटलमा बसेपछि कपडा फेरेर उनी नेपाल स्काउटको कार्यक्रममा गए। होटल उद्घाटन कार्यक्रममा आएका पाहुनाहरु हेरेको हेरै भए। प्रधानमन्त्री चुपचाप निस्किएपछि सबैजना आफ्नो बाटो लागे। ‘इन्टरनेशनल ब्राण्ड थियो। पोखराका लागि क्वालिटीको प्रोप्रटी पनि। पोखराको आर्थिक समृद्धिमा यसले सहयोग गर्ला भनेर प्रधानमन्त्रीज्यूलाई बोलायौं, ’ होटलका सुशील पौडेलले भने, ‘हामीले होटल वैशाखमै उद्घाटन गर्ने भनेका थियौं। प्रधानमन्त्रीको सचिवालयले समय फेरवदल गरेर आजलाई तोकेको हो। आज होटलमै छिरेर पनि हामीलाई सम्बोधन गर्नुभएन। दुःख लाग्यो। ’ नीति नियमलाई सकारात्मक लिए पनि समयअनुसार राज्यले फेरवदल गर्नुपर्ने उनको सुझाव छ। ‘सरकारमा बसेकाहरुले कानूनलाई व्यवसायमैत्री बनाउनुपर्छ। बाधक कुराहरु फुकाइदिनुपर्छ। कानूनकै कारण लगानी असुरक्षित हुनुहुँदैन, ’ पौडेलले भने।

प्रधानमन्त्री आउनुभन्दा पहिले नै बोलाइएका पाहुनाहरु होटलको सभाहलमा जम्मा भैसकेका थिए। सभाहल अण्डरग्राउण्डमा थियो। हलमा जान प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु एउटै लिफ्टमा छिरे। पहिले लिफ्ट तल झर्यो। सबैजना लिफ्टबाट ओर्लिए। प्रधानमन्त्री ओली चाहीँ त्यहाँबाट सीधै आठौं तला उक्लिए। प्रधानमन्त्रीलाई स्वागत गर्न उभिएका हलभित्रका पाहुनाहरु ट्वाल्लै परे। आयोजकहरु निःशब्द बने। औपचारिक कार्यक्रमका सञ्चालक सुशील पौडेलले भने, ‘प्रधानमन्त्रीज्यू खाना खाँदै हुनुहुन्छ। केहीबेर खाना खाएर पुनः हलमा आउनुहोला। ’ सबै निस्किए। प्रधानमन्त्री ओली लञ्च लिएर पनि लामो समय हलमा झरेनन्। अन्त्यमा नमस्कार गर्दै होटलबाट बाहिरिए। मापदण्डविपरीत होटल चलाइएको चौतर्फी आलोचनापछि प्रधानमन्त्री होटलको उद्घाटन नै नगरी फर्किएका हुन्। उनकै हस्ताक्षरमा तयार गरिएको ताम्रापत्र समेत अनावरण भएन।

होटलका मुख्य सञ्चालक भरतराज पहारी चाहीँ आफ्नो होटल मापदण्डअनुसार नै बनेको दाबी गर्छन्। ‘बस्ती विकास निर्देशिकाले जमिनको अनुपातमा भवन बनाउन पाउने नियम बनाएको छ। त्यसैलाई टेकेर भवन बनाएको हो, ’ उनले भने, ‘त्यो नियम लागू नगर्नु महानगरको कमजोरी हो। नियमअनुसार काम गर्दा मेरो के गल्ती भयो? ’ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावण मन्त्री विकास लम्साल, सांसदहरु राजीव पहारी, रामजी बराल, बिन्दुकुमार थापा, पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगत पहारी लगायत सहभागी थिए। सहभागीहरुले चाहीँ होटलमा छिरेर पनि उद्घाटन नगरी फर्किनुले व्यवसायको ‘अपमान’ गरेको प्रतिक्रिया दिए। होटल उद्घाटनका लागि उनीहरुले समेत आग्रह गरेका थिए।

होटल स्वीस सरोवर १० तले भवनमा छ। अन्तराष्ट्रिय मापदण्डअनुसार बनाइएको होटलले आफ्नै देशको मापदण्ड भने पूरा गरेन। होटलमा जमिनसहित करिब २ अर्ब रुपैयाँ लगानी लागेको सञ्चालकले बताएका छन्। अत्याधुनिक प्रविधि तथा वातावरणमैत्री हुने गरी निर्माण भएको होटलको सेवा पाँचतारे होटल बराबरको भएको पहारीको दाबी छ। होटलमा हाल ९६ वटा रुम छन्। पोखरामा केही महिना अघि पनि मापदण्डविपरीतको होटल उद्घाटन गरेर उपराष्ट्रपति नन्दकिशोर पुनले चौतर्फी आलोचना खेपेका थिए। ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएपछि विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशन प्रसारण भएको थियो। यसको पनि चारैतिर आलोचना भैरहेको थियो। अन्ततः ओलीले होटल उद्घाटन गरेनन्। पोखराका अधिकांश होटल तथा घरहरु मापदण्डविपरीत छन्। महानगरले यसलाई नियमन गर्न सकेको छैन।

Related News

सम्बन्धित समाचार

hero news full width