नमूना वडा १३

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७६
22

विजय नेपाल

पोखरा, १३  वैशाख स्मार्ट सिटीको अवधारणाअनुरुप पोखरा महानगरपालिका वडा नम्बर १३ नेपालमै नमुना वडाको रुपमा अघि बढेको छ । सेवाग्राहीको काम गर्ने थलो कुँडहरस्थित वडा कार्यालय पुग्दा लाग्छ, साँच्चै सिंहदरबार भित्रिएछ ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि चुनिएका वडा अध्यक्षसहित जनप्रतिनिधिले नमुना वडा बनाउन वडा कार्यालयबाटै काम थाले । विगतमा एक कोठामा मात्र सीमित वडा कार्यालयले सेवा प्रवाह चुस्त पारेको छ नै महानगरमै पहिलो पटक स्मार्ट नागरिक बडापत्र, सीसी टीभी क्यामरा, स्मार्ट कार्ड, कर्मचारी कक्ष, हेल्थ ल्याब, सुन्दर गार्डेन, कन्फरेन्स हल निर्माण गरेको छ । साथै अपाङ्गता भएका व्यक्ति, अशक्त र वृद्धवृद्धामैत्री कार्यालय यसको नमुनायोग्य कार्य हो । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत विकासका पूर्वाधारमा पनि वडाका जनप्रतिनिधि लागिपरेका छन् ।


वडा अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) भन्छन्, ‘विगतमा जनप्रतिनिधि नहुँदा सबैको मनलाग्दी भो, सामाजिक जटिलता उत्तिकै आयो । तर हामीहरु चुनिएर आइसकेपछि सभ्य समाज निर्माण र स्मार्ट सिटीको अवधारणाअनुरुप वडालाई नमुना बनाउन लागिपरेका छौं । सबैको साथ र सहयोग अपरिहार्य छ ।’
बैशाख पहिलो साता वडा कार्यालय पुग्दा वडा अध्यक्ष सेवाग्राहीको काममा खटिएका देखिन्थे । दिनरात नभनी सेवामा खटिने उनले आफू मातहतका कर्मचारीलाई पनि कामको जिम्मेवारी बाँडफाँट गरिदिएका छन् । जनताको अफ्ठ्यारो सल्टाउन कुन कर्मचारीले के गर्ने भन्ने जिम्मेवारी छ । कर तिर्न, सिफारिस बनाउन लगायत विभिन्न कामका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ । वडामै पुगे १ हजार स्क्वायर वर्ग मिटरको घरनक्सा पास गरिन्छ । महानगरको कर तिर्ने व्यवस्था छँदैछ। उनले सुनाए, ‘सुरुमा हस्ते थियो । अहिले अधिकांश कार्य कम्प्युटर माध्यमबाट हुन्छ । कोही पनि रोकिनु पर्दैन । मिल्ने काम तत्कालै गरेर पठाउँछौं ।’

वडाले गत वर्षको मंसिर १२ मा महानगरमै पहिलो पटक स्मार्ट परिचयपत्र वितरण सुरु गरेको थियो । मालिका सफ्टवेयर नेपालको सहकार्यमा तयार पारिएको प्रविधिमैत्री सो कार्डमा सेवाग्राहीको सम्पूर्ण विवरण उल्लेख हुन्छ । जसको सहयोगले तुरुन्तै काम लिन सकिन्छ । नमूनाको रुपमा सुरु भएको सो कार्ड अबको आर्थिक वर्षदेखि सबैलाई वितरण गरिने वडा अध्यक्ष दर्शन लामाले जानकारी दिए ।


नेपाल सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधि वडा कार्यालयबाटै वितरण हुने व्यवस्था मिलाइएको छ । यसका अलावा नागरिकको स्वास्थ्यमा सचेत हुँदै ल्याबसहित स्वास्थ्य जाँचको सुविधासमेत छ । यहाँ कार्यरत सहरी स्वास्थ्य केन्द्र इञ्चार्ज अहेव लीला गुरुङले प्रतिकारात्मक र प्रवद्र्धनात्मक कार्यमा जोड दिँदै रोकथाम उपायबारे सचेत गराउने गरिएको बताइन् ।


अहिलेको बालबालिका भोलिका भविष्य भएको मनन गर्दै वडा कार्यालयकै पहलमा वडाका सम्पूर्ण सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता आएको छ । वडामा हाल ८ वटा सामुदायिक विद्यालय छन् । त्यस्तै विद्यालय तहसम्म कक्षा ८ र १० को परीक्षा बाहेक अन्य कक्षाको परीक्षा वडास्तरमै हुने गरेको छ । वडाले आफैले प्रश्नावली तयार पार्छ । र, सम्बन्धित विद्यालयमा प्रश्नावली हस्तान्तरण गरिसकेपछि उत्तरपुस्तिका जाँचको व्यवस्था वडाले नै मिलाउँछ । वडाकै पहलमा सबै विद्यालयमा एकरुपता ल्याउने गरी शैक्षिक क्यालेन्डर बनाइएको छ । सबैभन्दा राम्रो पक्ष के हो भने सो क्यालेन्डर राम्रो मानेर पोखरा महानगरपालिकाले हाल अनुशरण गरेको छ ।

यहाँ ७ वटा संस्थागत विद्यालय संचालित छन् । ती विद्यालयमा वडाकै पहलमा जेहेन्दार र गरीब विद्यार्थी गरी हाल ६० जनाले पूर्ण छात्रवृत्तिमा अध्ययनको मौका पाएका छन् । कक्षा १ देखि ९ सम्म व्यवस्था गरिएको सो सुविधामा सम्बन्धित विद्यार्थीले बस चढेको र खाजा खाएकोमात्र शुल्क तिरे पुग्छ । मस्तिष्क पक्षघात भएका बच्चालाई समेत वडाले केयर गरेको छ । गत वर्षदेखि वीपीमार्गस्थित केयर सेन्टरमा राखिएका ५ जना त्यस्ता बच्चाको व्यवस्थापनका लागि घरभाडा वडाले तिर्छ ।

उता, ग्रिनरी सडक बनाउने अभियानमा वडाले हाल ५ सय मिटर बाटो गत वर्ष नै निर्माण गरिसकेको छ । वडाले महानगरमै पहिलो पटक दृष्टिविहीनमैत्री बाटो बनायो । कुल ८ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको ३ सय मिटर दृष्टिविहीनमैत्री सो बाटो उद्घाटन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी स्वयं पुगेका थिए । बाटोको वरिपरि फूल, गमला राखिएका छन् ।

आन्तरिक राजश्व कार्यालय पोखरामा कार्यरत दृष्टिविहीन भएका अधिकृत विजयप्रसाद लामिछानेले वडाको कार्य सबै वडाले अनुशरण गरे आफूहरुको लागि ठूलो सहयोग हुने बताए । सो प्रकृतिको बाटो आगामी दिनमा १ हजार २ सय मिटर निर्माण गर्ने वडा अध्यक्ष लामाले जानकारी दिए ।

यस्तै, वडा कार्यालय नजिकैको भद्रकाली माविको मुख्यद्वार अगाडि बढी विद्यार्थीको चाप हुने भएकोले वडाले ट्राफिक लाइट निर्माण गरेको छ । महानगरपालिकाले नगरमा राख्न नसकेको ट्राफिक लाइट एउटा वडाले आफ्नै प्रयास थालेको सो अभियानको वडाबासीले प्रशंसा गरेका छन् ।


खानेपानीतर्फ वडावासीलाई स्वच्छ पिउनेपानी व्यवस्था गर्नुपर्छ भन्ने हेतुले वडाले यसको सर्भे भैरहेको जनायो । आफ्नै व्यवस्थापनमा खानेपानी सुविधा दिने योजना रहेको वडा अध्यक्ष लामा सुनाउँछन् ।

वडाभित्र प्रवेश गर्ने प्रमुख ८ नाकाहरुमा गत वर्ष नै वडा कार्यालयले सीसी टीभी क्यामरा जडान गरी आपराधिक क्रियाकलाप न्यूनीकरणमा टेवा पु¥याएको छ । सो कार्य पनि महानगरमै नौलो अभ्यास थियो ।

कास्कीको साविक आर्वाविजय गाविस र पोखरा उपमहानगरपालिका वडा १३ मिलेर अहिलेको वडा १३ बनेको हो । वडामा कुल ४ हजार ५ सय घरधुरी छन् । यहाँको जनसंख्या हाल करिब ३५ हजार रहेको अनुमान छ । वडा कार्यालय कुल सात रोपनी क्षेत्रफलमा फैलिएको छ । कार्यालयमा रंगरोगनसहित पर्खाल र रेलिङ लगाइएको छ । सुरुवातमा पूर्वाधार निर्माणमा ३६ लाख रुपैयाँ खर्च लागेको वडा अध्यक्ष लामाले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले वडा १३ को कार्य स्मार्ट सिटीको अवधारणामा अघि बढेको बताए । उनले यस्तै कार्यको थालनी अन्य वडामा पनि गर्दै लगिने आश्वासन दिए ।

तत्कालीन वाम गठबन्धनबाट अध्यक्ष पदमा दर्शन लामासहित महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला बिक, खुलातर्फ टंकप्रसाद भट्टराई र रही मुल्ला मियाँ चुनाव जितेको जनप्रतिनिधिको टोलीले २०७४ जेठ १४ देखि कामको जिम्मेवारी लिएको हो ।


वडावासी विजय श्रेष्ठले जनप्रतिनिधि आइसकेपछि धेरै कुरामा सहज भएको प्रतिक्रिया दिए । उनले वडा नम्बर १३ को कार्यको प्रशंसा गर्दै यसको सिको अरुले पनि गर्नुपर्ने बताए ।

त्यस्तै, बच्चालाई उपचार गर्न वडा कार्यालय आएकी स्थानीय विष्णु गुरुङले अचेल घर नजिकै विभिन्न खालका सेवा सुविधा मिलेको बताइन् । उनले भनिन्, ‘हामीलाई सिंहदबार नै घरघरमा आएको अनुभूति मिलेको छ ।’

कास्कीमा पोखरा महानगरपालिका सहित चार वटा गाउँपालिका छन् । महानगरमा ३३ वटा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width