हिउँ पन्छाउन नेताहरू बीच होड

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७५
Manag Hiu F

लमजुङ, ८ चैत । हिमाल पारीको जिल्ला मनाङमा चुनावी प्रतिस्पर्धा जस्तै यतिबेला मनाङमा सडकमा जाम भएको हिउँ पन्छाउने होड सत्ता र विपक्षी नेताहरूका वीचमा चलेको छ । हिमपातका कारण करिब दुई महिनादेखि बन्द सडक खुलाउन त्यस्तो होड चलेको हो ।

डोजर र एक्साभेटरको प्रयोग गरी चुनावको बेलामा एकअर्काको प्रतिस्पर्धामा उत्रिएझैं मनाङका नेताहरू सडकमा जाम भएको हिउँ हटाएर बाटो खुलाउन त्यसरी नै सक्रिय भएका छन् । डोजर र एक्साभेटरको व्यवस्थापन गर्न नपाएका नेताहरूले हिउँ पन्छाउने काममा रकम दिएर सहयोग गरेका छन् । हिउँ पन्छाउन नेताबीच डोजर प्रतिस्पर्धा चलेको पर्यटन विकास व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनका अनुसार हिमपातपछि माथिल्लो मनाङमा माघ ९ देखि सडक बन्द थियो ।

चामेबाट २२ किलोमिटर माथि हुम्डेसम्म सवारी साधन सञ्चालन हुन थालेका छन् । हुम्डेबाट करिब ९ किलोमिटर माथिल्लो मनाङगाउँ र करिब १७ किमि दुरीको खाङसारसम्म सडक खुलाइए पनि सवारी चल्न सकेका छैनन् । हिउँ पग्लिएपछि केही दिनमै सवारी आवतजावत हुने ङिस्याङका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार बाटो खुलाउने काममा मेसिनरी सामग्रीका अपरेटर साथै नपुग डिजलको व्यवस्थापन गाउँपालिकाले सहयोग गरेको छ ।

त्यस्तो कार्य गर्नेमा संघीय संसदमा निर्वाचित सांसद पोल्देन छोपाङ गुरुङ पनि छन् । उनले आफ्नै कम्पनी एग्रो मनाङ प्रालि मार्फत डोजर प्रयोग गरेका छन् । तत्कालीन एमालेको प्रतिनिधि बनी उनले मनाङमा पहिलो पटक निर्वाचन जितेका हुन् ।
कांग्रेसबाट यस पटक संघीय समानुपातिक सांसद कर्म घलेले मेसिनरी सामग्रीमा डिजेललगायत प्रयोग गर्न एक लाख रुपैयाँ दिएर हिउँ हटाउने काममा सहयोग गरेको बताए । यसैगरी, सांसद छोपाङका प्रतिद्वन्द्वी पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले एक्साभेटर उपलब्ध गराएको स्थानीयले बताएका छन् । कांग्रेस नेता उनले संविधानसभाको २०७० मा सम्पन्न निर्वाचनमा विजयी भएका थिए ।

मनाङ ङिस्याङ गाउँपालिका– ६ का अध्यक्ष सोनाम गुरुङले हिउँ हटाउन नेताहरूबीच प्रतिस्पर्धा जस्तै भएको बताए । ‘राजनीतिमात्र मात्र होइन, विकासमा पनि प्रतिस्पर्धा हुनु राम्रो पक्ष हो, यस्तो कामले निरन्तरता पाए नागरिकले सुख पाउँछन् ।’ उनले भने । उनका अनुसार साढे एक सातादेखि माथिल्लो मनाङमा हिमपहिरो, रुखबोट तथा हिउँ हटाएर बाटो खुलाउने काम भइरहेको छ ।

बाटो खुलेसँगै पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताएका छन् । उनका अनुसार साताअघि एक्यापको समेत सहयोगमा उक्त पदमार्ग खुलाइएको हो । बाटो खुले पछि दैनिक ४५ देखि ५० जनासम्म मनाङबाट थोराङ भञ्ज्याङ हुँदै मुस्ताङ निस्केर पोखरातर्फ लाग्ने गरेका छन्

Related News

सम्बन्धित समाचार

hero news full width