पोखरामा बम आतङ्क, सेनाद्वारा डिस्पोज

बन्दले जनजीवन प्रभावित

रासस
चैत्र १, २०७५
banda 1_Fotor

बन्दले सिर्जेको तनाबः बिहीबार बिहान पोखरा सभागृह चोकस्थित ट्राफिक बिटमा बम रहेको हल्लासँगै उक्तस्थलको रेकी गर्दै नेपाली सेना तथा प्रहरी। इन्सेटमा बम डिस्फोजल टोली हेर्न जम्मा भएका सर्वसाधारण। तस्वीरः आदर्श समाज

पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले विहीवार आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि पर्यो।

पक्राउ गरिएका आफ्ना कार्यकर्ता रिहाइ गर्न माग माग गर्दै आह्वान गरिएको बन्दका क्रममा पोखराका २ स्थानमा बम आतंक फैलियो।

सभागृहचोकस्थित ट्राफिक बिट नजिकै विहीवार बिहानै शंकास्पद बस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। पछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आवातजावतमा रोक लगाएर तारजडित प्लाष्टिकको बट्टामा टेप लगाएर बाँधिएको सो वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो। गण्डकी प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार सो वस्तुभित्र माटोले भरेको डिब्बा रहेको थियो।

उता, लेखनाथ भण्डारढिकस्थित रंगशाला नजिकै पनि बम फेला परेकोमा सेनाले डिस्पोज गरेको छ।

बन्दका कारण पर्यटकीय क्षेत्र पोखरामा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेनन्। सडकमा फाट्टफुट्ट मोटरसाइकल र साइकल गुडेको देखिए पनि ठूला सवारी सवारी साधन देखिएनन्।

विभिन्न संघसंस्था, विद्यालय, क्याम्पस, उद्योगधन्दा, कलकारखाना, पसल बन्द रहे। पर्यटक बसलाई प्रहरीले स्कर्टिङ गरी चलाएको भए पनि सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परे।

बन्दका क्रममा कार्यकर्ता नदेखिए पनि बन्दका बेला अप्रिय घटना हुन नदिन चोकचोकमा सुरक्षाकर्मी बाक्लो रुपमा खटाइएको थियो।

विप्लव समूहको बन्द निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठाउँ ठाउँमा खटिएका थिए। विभिन्न स्थानमा प्रहरीका गुप्तचर समेत थिए।

बन्दका बेला मुल सडक, पुल, भवन, पार्क, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

प्रेस, एम्बुलेन्स, खानेपानीको ट्याङ्की, मानवअधिकारवादी चढेको गाडी चलेका थिए।

उता, गोरखा जिल्लाको गोरखा नगरपालिका–६ भीआईपी टोलको चेाकमा कुकरमा बाहिर तार निकालेको प्लाष्टिकले प्याक गरेको प्रेसर कुकर बम भनी आतंक फैलिएपछि सेनाले बिहान डिस्पोज गरेको छ।

स्याङ्जाको फेदीखोला गाउँपालिका २, भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा रातो प्लाष्टिक र रातो तारले बेरेको शंकास्पद बस्तु भेटिएपछि डिस्पोजको क्रममा गिट्टीमात्र भेटिएकोले प्रहरीले जनाएको छ।

बन्द विरोधमा पोखरेली युवा

बन्दको बिरोधमा पोखरेली युवा सडकमा उत्रिएका छन्। ‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं’ भन्दै उनीहरु विहीवार सडकमा उत्रिएका हुन्।

विवेकशील साझा पाटीमा आवद्ध युवाको नेतृत्वमा स्थानीय युवाले ‘नेपाल खुला छ’ लगायत नाराअंकित प्लेकार्डसहित राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पार्टीका युवाको भनाइ छ।

उनीहरुले वार्ता माध्यमबाट समस्या समाधान खोज्न विप्लव र सरकार पक्ष दुवैलाई आग्रह समेत गरेका छन्। विकासमा बाधा नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न पाउने अधिकार भए पनि बन्द हड्ताल जस्ता काम बन्द गर्नुपर्ने उनीहरुको माग छ।

नवलपुरमा दिनभर बम आतंक 

नवलपरासी। आफ्ना नेता कार्यकर्ताहरुको रिहाई तथा झुटा मुद्दा खारेजी लगायतका माग राख्दै विहीबार

विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण विहीवार दिनभर नवलपुर तनावग्रस्त रह्यो। नवलपुरमा अप्रिय घटना केही नभए पनि ठाउँठाउँमा एकपछि अर्को बम तथा शंकास्पद वस्तुहरु भेटिएपछि जनजीवन तनावग्र्रस्त रहेको हो।

गैँडाकोटको जयश्री पुलमा रातिदेखि नै शंकास्पद वस्तु भेटिएको खबर पाएका नवलपुरका बासिन्दा सोच्दै नसोचेको सदरमुकाम कावासोतीमा जिल्ला प्रहरी कार्यालय नजिकै दिउँसो एक्कासी विस्फोटको आवाज सुनेपछि त्रसित भएका हुन्।

विप्लव नेतृत्वको नेकपाले बन्दका क्रममा नवलपुरको गैँडाकोटको जयश्री पुलमा राखेको बम नक्कली भएको पाइएको छ।

रातो प्लाष्टिकको ब्यागभित्र ‘खतरा’ संकेत दिएर राखिएको शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरेको हो।

प्लाष्टिकको झोलाभित्र बाल्टिन राखी बाल्टिनभित्र जुटको बोरा र माटो राखिएको पाइएको हो। सेनाको टोलीले शंकास्पद वस्तु बम नभएको यकिन गरेपछि राति साढे १२ बजेदेखि अवरुद्ध जयश्री पुलमा यातायात सञ्चालनमा आएको छ।

उक्त शंकास्पद वस्तु मध्यविन्दु–१४ स्थित नेपाली सेनाको हवल्दार शिवबहादुर न्यौपानेको नेतृत्वमा गएको बम डिस्फोजल टोलीले निष्कृय पारेको हो।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कावासोतीको मुख्यचोकमा बिहान साढे ११ बजेतिर बम विस्फोट गराएका थिए। जिल्ला प्रहरी कार्यालयदेखि करिब २ सय मिटर पूर्वपश्चिम राजमार्ग छेउमै विस्फोट भएको हो।

कावासोतीमा विस्फोट भए लगत्तै राति नक्कली बम भेटिएकोस्थल जयश्री पुलबाट केही दक्षिणतर्फ दिउँसो फेरि शंकास्पद बस्तु फेला पर्यो। उक्त वस्तु भने बम नै रहेको पुष्टि भए पनि सेनाले निष्कृय पारेको थियो। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको जयश्री पुल नजिकै भेटिएको ७ थान बम, बम डिस्फोडल टोलीले निष्कृय बनाएको हो।

प्रहरीका अनुसार उक्त क्षेत्रमा २ वटा सुतली बम र ५ वटा पेट्रोल भरिएका बोतल थिए।

त्यसैगरी नवलपुरकै देवचुली नगरपालिका–१३ दलदलेमा बम भेटिएको छ। उक्त बम सामान्य खाले रहेको र सेनाले डिस्पोज गरिसकेको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ।

यसैबीच, पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ। सरावल गाउँपालिका १, तुलसीपुर चोकमा रोकिराखेको दुई वटा ट्रकमा बुधबार राति आगजनी भएको हो।

ना५ख ७८४१ र ना४ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुवै ट्रकको पछिल्लो दुई चक्का जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रकमा लागेको आगो समयमै निभाएर पूर्ण क्षति हुनबाट जोगाइएको प्रहरीले जनाएको छ।

बागलुङमा बन्दको प्रभाव

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आव्हान गरेको नेपाल बन्दको प्रभाव बागलुङ जिल्लाको सदरमुकाम बागलुङ र बुर्तिवाङमा परेको छ। जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन चलेनन्। उद्योगधन्दा, कलकारखाना, पसल बन्द रहे। जिल्लामा रहेका अधिकांश निजी तथा सार्वजनिक विद्यालय बन्द रहे।

बजारका कुनै–कुनै ठाउँमा फाट्टफुट्ट मोटरसाइकल चलेको देखिन्थ्यो। जिल्लाको पश्चिम भेगस्थित दोश्रो व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा पनि बन्दको प्रभाव परेको बताइएको छ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इञ्चार्ज प्रहरी निरीक्षक ओमप्रकाश यादवले बुर्तिवाङ बजारका पसल फाट्टफुट्ट खुले पनि सवारीसाधनको आवतजावत नभएको बताए।

बन्द हड्ताल हुनु दुःखद् : महासङ्घ

काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको बताए ।

“सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न अगाडि बढेको अवस्थामा फेरि बन्द तथा हडतालजस्ता क्रियाकलाप हुनु दुःखद् कुरा हो”, विज्ञप्तिमा भनिएको छ।

मुलुकमा राजनीतिक आन्दोलन र सशस्त्र क्रान्तिका कारण विकास हुन नसकेको बताउँदै महासङ्घले विकासका लागि सरकारले असन्तुष्ट पक्षलाई वार्ता र छलफलबाट समाधान खोज्नुपनेर्मा जोड दिएको छ। महासङ्घले यस्ता समस्यालाई असन्तुष्ट पक्षसँग बसेर वार्ता र छलफलको माध्यामबाट तत्काल समाधानका लागि नेपाल सरकारसँग जोडदार मागसमेत गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width