वन्यजन्तु सप्ताहमा चरा अवलोकन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
Chitwan baishakh 3 news

चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा वन्यजन्तु सप्ताहअन्तर्गत चरा अवलोकन गरिएको छ । २९औं वन्यजन्तु सप्ताहअन्तर्गत सौराहा नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार चरा अवलोकन गरिएको छ ।

जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बर्ड एजुकेसन सोसाइटी चितवन र नेचर गाइड एसोसियसन सौराहाको सहकार्यमा प्रकृतिमा चराको अवस्था पत्ता लगाउन चरा अवलोकन गरिएको हो । चरा संरक्षणकर्मी र नेचर गाइडहरूले उपकरणको प्रयोग गरी चराको अवस्था अवलोकन गर्नुका साथै संरक्षणकर्मीहरूलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिबारे जानकारी गराएका थिए । चराको बासस्थानको हिसाबले अब्बल मानिँदै आएको वनमा चराको अवलोकन गरिएको हो ।

बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु विडारीले चितवनमा रहेका ६ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजातिका चरा जनकौली मध्यवर्ती सामुदायिक वनमा रहेको बताए । चराको बासस्थान राम्रो भएर पनि उक्त वनलाई सौराहाको पर्यटनसँग जोड्न नसकिएको विडारीले गुनासो गरे । सौराहाको निकटका रहेका अन्य बाघमारा, चित्रसेन, लकुमरोज सामुदायिक वनले पर्यापर्यटनबाटै वार्षिक २ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

बर्ड एजुकेसन सोसाइटीको अध्यक्ष टीका गिरीले ओझेलमा रहेको जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासको लागि दबाब सिर्जना गर्न वन्यजन्तु सप्ताहको अवसरमा चरा अवलोकन गरिएको बताए । वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका सौराहाका व्यवसायीहरू चराचुरुंगी देखाउँदै वन र वातावरणको संरक्षणमा सहभागी हुनुपर्ने गिरीले बताए । जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले अन्य देशहरूबाट आउने आगन्तुक चराहरूले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेको बताए ।

मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको बताए । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आकर्षित गर्ने गतिविधि आवश्यक रहेको उनको भनाइ छ । पर्यटकलाई डुंगा सयर गराइरहेको जनकौलीमा निकट भविष्यमा जिप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जनको आधार तयार गर्ने बताए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख ४ गते मंगलबार वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली गरिने जनाइएको छ । सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरूलाई सम्मान गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts