जिससको सातौं जिल्ला सभा : ११४ योजना स्वीकृत गरी सिफारिस

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
Jisasa pradesh pamukha

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले संघीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने उनले बताए ।

जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभामा बोल्दै उनले मुलुक गणतन्त्र र संघीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सेवा सुविधा दिनुपर्छ । संघीयता बलियो बनाउनुपर्छ । मुलुकमा विकास गर्नुपर्छ ।’

जनतासँग सबैभन्दा नजिक रहेको स्थानीय सरकार सुशासनयुक्त हुनुपर्नेमा पनि प्रदेश प्रमुख भट्टले जोड दिए । स्थानीय तहबीच आपसी समन्वयको खाँचो औंल्याउँदै उनले सम्बन्ध प्रभावकारी बनाउन व्यवस्था गरिएको जिल्ला समन्वय समितिकोे कार्य प्रभावकारिता अभिवृद्धि गर्नुपर्नेमा जोड पनि दिए ।

जिससले जिल्लाभित्रका संघीय प्रादेशिक सरकारी कार्यालय र पालिकाबीच समन्वय गर्ने, विकास निर्माण कार्यमा सन्तुलन भए÷नभएको अध्ययन अनुसन्धान गरी संघ, प्रदेश र पालिका सरकारलाई सुझाव र प्रतिवेदन दिने, वार्षिक समीक्षा कार्यक्रम गरी राय सुझाव दिने लगायतका कार्यहरू तोकिएकाले सोही अनुसार गर्न पनि आग्रह गरे ।

कास्की जिल्ला पर्यटनको हिसाबले अग्रणी जिल्ला रहेको र यसै जिल्लाको पोखरालाई हालै नेपाल सरकारले पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा पर्यटकीयस्थल स्तरोन्नति, ग्रामीण पर्यटनको प्रवद्र्धन, प्राकृृृतिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र उचित व्यवस्थापन गर्नका लागि यहाँका पाँचवटै पालिकाबीच साझा कार्यक्रम, समन्वय हुनुुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारको तर्फबाट जिससको थप सबलीकरणमा प्रतिबद्धता व्यक्त गरे ।

सभामा गण्डकी प्रदेश सभाका सदस्य भीमबहादुर कार्की, पोखरा महानगरको प्रमुख धनराज आचार्य, गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझा, जिसस गोरखाका प्रमुख मोहनबहादुर थापा, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, साविक जिल्ला बिकास समिति कास्कीका सभापति पुण्य पौडेल, जसपाका अध्यक्ष हर्कबहादुर गुरुङ, माओवादी केन्द्र कास्की अध्यक्ष शिवजी लामिछाने लगायतले बोलेका थिए ।

बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख

सभाले राष्ट्रिय महत्वका सम्भावित रणनीतिक योजना, प्रदेश गौरवका योजनाहरुको लागि प्राथमिकतासहित बजेटको व्यवस्थापन गरिदिन राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, नेपाल सरकार र प्रदेश सरकारसँग निरन्तर रुपमा समन्वय र सहकार्य गरी कास्कीका ५ पालिकाकाका लागि विभिन्न १ सय १४ योजना जिल्ला सभाबाट स्वीकृत गरी केन्द्र तथा प्रदेश सरकारमा माग गर्ने निर्णय कास्की जिल्ला सभाले गरेको जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले बताए ।

त्यस्तै, विकास कार्यमा समन्वयका लागि स्थानीय तहले संचालन गरेका विकास आयोजना अनुगमन गर्ने, अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउने, व्यवस्थापनमा सहजीकरण कार्य तीव्र पार्ने निर्णय गरेको छ ।

आवा २०८०÷८१ देखि जिससले वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा पालिकाको रोहवरमा विश्लेषणसहित सार्वजनिकीकरण गरी पालिकालाई सम्मान गर्ने विधिवत् थालनी गरिएकोमा सो कार्यलाई निरन्तरता दिने, चालु आवदेखि जिल्लाभित्र रही उत्कृष्ट सेवा प्रदान गर्ने सेवा प्रदायक निकाय राष्ट्रसेवक शिक्षक तथा कर्मचारी र पत्रकार एवं सञ्चारकर्मीलाई स्वीकृत मापदण्ड भित्र रही त्यस्ता संस्था, कर्मचारी पत्रकारको मनोवल उच्च राख्न सम्मान गर्ने कार्यको विधिवत् थालनी गरिने, यस वर्ष प्रभावकारी देखिएका अन्तरसंवाद कार्यक्रम ज्येष्ठ नागरिकसँग, बालबालिकासँग, बालक्लब, उपभोक्ता समूह नदी तथा खानीजन्य व्यवसायी जस्ता कार्यक्रमलाई निरन्तरता दिई उद्योग, वाणिज्य, यातायात, पर्यटन, स्वास्थ्य क्षेत्रजस्ता विषयमा आगामी वर्ष अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने, नागरिक आरोग्य जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाई वैकल्पिक चिकित्सा पद्दति, आयुर्वेद र योगालाई पालिका हुँदै वडास्तरसम्म लैजान पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी, पालिकाका स्थानीय पाठ्यक्रममा नागरिक आरोग्य कार्यक्रमलाई समावेश गरी विद्यालय स्तरमै कक्षा सञ्चालन गर्न स्थानीय तहलाई अनुरोध गर्ने, बालविवाहलाई न्यूनीकरण गर्न राष्ट्रिय बालअधिकार परिषद्सँग समन्वय गरी विहेबारी २० वर्षपारिको नारालाई सार्थक तुल्याउन विवाह कार्डमा समेत जन्ममिति राख्ने र २० वर्ष पूरा गरेकालाई मात्र विवाह कार्यमा संलग्न पण्डित लगायत सरोकारवालालाई तालिम प्रशिक्षण दिने निर्णय भएको छ ।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width