देउराली र राजाको चौतारामा बजार अगुगमन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
bazar anugaman 1

पोखरा । जिल्ला बजार अनुगमन समितिले कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरपालिकामा बजार अनुगमन गरेको छ ।

पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा बुधबार रुपा ५ देउराली र पोखरा ३२ राजाकोचौतारामा बजार अनुगमन गरिएको हो । देउरालीका १३ र राजाको चौताराका ८ पसलको अनुगमनमा पेय पदार्थ म्याद गुज्रिएको, पसल गाउँपालिका कार्यालयमा मात्र दर्ता गरिएको, दर्ताअनुसार बिल नबनाइएको भेटिएको छ ।

टोलीले होटल, खाद्यान्न, कस्मेटिक्स, स्टेसनरी लगायतका पसल अनुगमन गरेको थियो । सोक्रममा भेटिएका म्याद गुज्रिएका सामग्री नष्ट गर्दै सञ्चालकलाई सचेत गराइएको छ ।

साथै अधिकांश पसलका तराजु लामो समयदेखि गुणस्तर तथा नापतौल कार्यालयबाट चेक जाँच नगरिएको पाइएकाले ३५ दिनभित्र तराजुसहित सम्पर्कमा आउन निर्देशन दिइएको छ ।

यसैगरी, दर्ता नभएका पसललाई दर्ता गर्न, कपडा र खाद्यान्नसँगै राखेकालाई छुट्याएर व्यापार गर्नसमेत समितिले निर्देशन दिएको छ ।

अनुगमन समिति संयोजक महराज ढकालले रुपाको देउरालीमा पहिलो पटक अनुगमन गरिएको बताए । उनले पहिलो पटक सचेत गराएर म्याद गुज्रिएका सामग्री नष्ट गरेर छाडिएको र पुन अनुगमन गर्दा त्यस्तै भेटिएमा कानुन बमोजिम कारबाही गरिने बताए ।

पोखरा ३२, राजाको चौतारास्थित जोशी ब्रदर्श ट्रेडर्सले पान नम्बर बिनै बिल काटेको पाइएपछि सचेत गराइएको छ । साथै सो पसलमा म्याद गुज्रिएका ४० हजार बराबरका सामान नष्ट गरिएको छ ।

राजाकोचौतारोस्थित हरिओम होटलमा किचन नजिकै र शौचालय रहेको पाइएपछि शौचालय बन्द गर्न, सरसफाइमा ध्यान दिन र खानामा रङ प्रयोग नगर्न निर्देशन दिइएको अनुगमन टोली सदस्य रघुनाथ पौडेलले जानकारी दिए ।

अनुगमन टोलीमा पर्यटन तथा उद्योग कार्यालय कास्की प्रमुख ढकाल, गुणस्तर तथा नापतौल कार्यालयका रघुनाथ पौडेल, जिल्ला प्रशासन कार्यालयका मकुन्द पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका पूर्णकला थापा, पर्यटन तथा उद्योग कार्यालयका ताराबहादुर रायमाझी, उपभोक्ता मञ्चका कमल पौडेल ‘अथक’ र नेपाल पत्रकार महासंघ कास्कीका प्रतिनिधि थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै