सहकारी कस्तो बनाउने भन्ने सदस्यमा निर्भर : आचार्य

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
palpali sahakari

पोखरा। पोखरा महानगरपालिका सहकारी समितिका विज्ञ सदस्य दीपकप्रसाद आचार्य सहकारीलाई कस्तो बनाउने भन्ने सदस्यमा भर पर्ने बताउँछन् । उनले सदस्य नियन्त्रण प्रणालीबाट सहकारी चलाउने हो भने समस्या नहुने तर व्यक्तिप्रधान भएर चलाउने हो भने समस्या तिम्तिन सक्ने बताए ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.आयोजनामा शनिबार पोखरामा आयोजित प्रशिक्षणमा जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय प्रतिनिधि सदस्यसमेत रहेका आचार्यले सो कुरा बताएका हुन् । बचतकर्ताको मोटो रकम अपचलन भएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छानबिन गरिरहेका आचार्यले सहकारीमा स्वनियम पाटो बिर्सिंदा समस्या निम्तिने गरेको अनुभव सुनाए।

‘स्वनियमको पाटो, नियम कानुनको कुराहरु कार्यान्वयन गर्न नसक्दा समस्या देखियो,’ उनले भने, ‘ऋण लगानी गर्दा हामीहरुले के–के कानुन फलो गर्ने भन्ने विषय बनायौं तर त्यसलाई कार्यान्वयन गरेनौं । नाफाको लागि सदस्य बनाउने तर उक्त सदस्य बीच बाटोमै छोडेर जाने गर्दा खराब कर्जा बढ्ने र पैसा असुल गर्न नसक्ने अवस्था आउन सक्छ । शर्तअनुसार पैसा तिरेनन् भने संस्था उठेका छैनन् । त्यसमा सचेत हुनुपर्छ ।’

सहकारीको दिगो विकासका लागि पारदर्शिता, सुशासन र स्वनियमलाई बिर्सनै हुँदैन

उनले सहकारीको दिगो विकासका लागि पारदर्शिता, सुशासन र स्वनियमलाई बिर्सनै हुँदैन भने । उनले बैंकको तुलनामा सहकारी झन् सुरक्षित भएको तर्क गरे । उनी भन्छन्, ‘सहकारीमा सबै सदस्यको अधिकार समान हुन्छ । आवधिक निर्वाचन हुन्छ । अविछिन्न चलिरहने प्रक्रिया हो । सर्वेसर्वा अधिकार साधारणसभालाई दिएको छ । यो स्वतन्त्र र स्वायत्त संस्था हो । मात्र सदस्य चनाखो हुनुपर्छ । यति भए सहकारी डुब्दै डुब्दैन ।’ उनले सहकारी निश्चित कार्य क्षेत्र र समुदायमा केन्द्रित हुनुपर्ने सुझाव दिए । त्यति भए सञ्चालकले हरेक सदस्यलाई राम्रोसँग चिन्ने र जान्ने मौका पाउँछ । सहकारीले समुदायप्रति चासो राख्ने हो भने दुःखसुखमा साथ दिने हो भने उक्त समुदायलाई पनि सहकारीप्रति अपनत्व भावना विकास हुने आचार्यको भनाइ थियो । उनले सहकारीले बजार हेरेर व्याजदरलाई औजारको रुपमा प्रयोग चलाइरहनुपर्ने सुझाव दिए । साथै सहकारीमा सुशासनका निम्ति प्रविधि र एकीकरणलाई जोड दिए ।

सदस्यको उत्थानका लागि बचत गर्ने बानीको विकास, तालिम तथा शिक्षा, उद्यमशीलता र रोजगारी, आर्थिकरुपमा सबल, सामाजिकरुपमा प्रतिस्पर्धी र स्वावलम्बी बन्न उत्प्रेरित गर्नुपर्ने बताए ।

उनका अनुसार महानगरभित्र हाल ३ सय ६४ सहकारी सञ्चालित छन् । तीमध्ये १ सय ६८ बचत तथा ऋणको कारोबार गर्छन् । जिल्लामा करिब १५ सहकारी समस्यामा छन् । तीमध्ये महानगरअन्तर्गत इमेज, सूर्यदर्शन र बलिदानीले मुद्दा खेपिरहेका छन्।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकारी व्यवस्थापन विषयक प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा संस्थाका सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्जा उपसमिति, शिक्षा उपसमिति, व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक तथा सदस्य एवं कर्मचारीको उपस्थिति थियो । सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले पाल्पाली बहुउद्देश्यीय सहकारीमा खराब कर्जा नरहेको बताए । निवर्तमान लेखा समिति संयोजक नारायणप्रसाद पौडेलले सहकारीले ऋणीलाई १० लाखभन्दा बढी लगानी नगरेको हुँदा अन्य सहकारीको तुलनामा बलियो रहेको बताए।

पाल्पाली समाज पोखराको पहलमा ५ वर्षअघि खोलिएको सहकारीमा हाल करिब ५ सय सदस्य रहेको सहकारी सचिव रेशम रचकले बताए । संस्थाको कार्यालय पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts