सामाजिक कुरीतिविरुद्ध प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
kuriti

पोखरा । सामाजिक विकास कार्यालय कास्की आयोजनामा सामाजिक कुरीतिविरुद्ध प्रशिक्षण कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भएको दुई दिने प्रशिक्षणमा ४५ जनाले भाग लिएका थिए ।

समाजमा विद्यमान सामाजिक कुरीति, लैंगिक हिंसा, बालविवाह, दाइजो प्रथा, जातीय भेदभाव, मानव बेचविखन तथा ओसारपसार लगायत परम्परागत हानीकारक अभ्यासहरु न्यूनीकरण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाज शिक्षक, समुदाय प्रहरी, आमा समूह क्लब, महिला प्रर्वद्धित सहकारी, लैंगिक अल्पसंख्यकबाट प्रतिनिधित्व थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाह र अधिवक्ता गीता लामिछानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा कास्की जिल्लामा सचेतना जगाउन सामाजिक कुरीतिविरुद्ध जागरण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले समाजमा हुने विकृति विसंगति न्यूनीकरण गर्नका लागि समुदायसँग समन्वय आवश्यक रहेको बताए । ‘विकृति विसंगति न्यूनीकरण गर्ने काम प्रहरीको हो तर प्रहरी एक्लैबाट त्यो सम्भव छैन,’ प्रहरी उपरीक्षक थापाले भने, ‘विकृति विसंगति न्यूनीकरणका लागि प्रहरी समुदायसँग समन्वय गर्न सधैँ तयार छ ।’ उनले यस्ताखालका कार्यक्रम गर्न लागि आफ्नो कार्यालयबाट निशुल्करुपमा प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले फजुल खर्चका कारण विकृति विसंगति बढ्दै गएको बताउदै यस्ताखालका गतिविधिलाई निरुत्साहित पार्न सबै लाग्नु पर्ने उल्लेख गरे ।

अभियानकर्ता रामबहादुर पौडेलले प्रशिक्षणमा सिकेका सिकाइबाट कास्की जिल्लालाई विकृतिरहित जिल्ला बनानउन सकेमा मात्रै प्रशिक्षणले सफलता पाउने उल्लेख गरे ।

सहभागि गीता पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न आफ्नोतर्फबाट लागिपर्ने बताइन् । सामाजिक विकास कार्यालय कास्कीका कार्यालय प्रमुख इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन अधिकृत ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width