घान्द्रुक पर्यटन महोत्सवमा घोडा दौड

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
Ghandrukkk

पोखरा । घान्द्रुक पर्यटन व्यवस्थापन समिति आयोजनामा घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।
यही चैत २७ देखि ३० सम्म पर्यटकीय क्षेत्र गाउँमा उक्त महोत्सव आयोजना गर्न लागिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा समिति अध्यक्ष विक्रम गुरुङले बताए ।

‘सबै मौसममा पर्यटन’ नारासहित पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको उनले बताए ।

उनका अनुसार महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, बास्केटबल, घोडादौड, चक्रीय पदमार्ग दौड, ठेलो हान्ने र म्युजिकल प्रतियोगिता आयोजना छ ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलतर्फ विधागत पुरस्कारको पनि व्यवस्था छ ।
महोत्सव संयोजक अमृत लामा गुरुङले खुला बास्केटबल प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।

घोडा दौडमा विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्त,ै चक्रीय पदमार्ग दौड प्रतियोगिता विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । ठेलोमा विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सव अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रदर्शन गरिने आयोजकले जनायो ।

महोत्सवको हरेक बेलुका विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जबताए । महोत्सवमा आदिम कला केन्द्रले नृत्य प्रस्तुत गर्नेछ ।

अन्तिम दिन लोक तथा दोहोरीगायक राजु परियार आउने छन् ।

यसैबीच, महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिइने समिति अध्यक्ष विक्रम गुरुङले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय मात्र निर्धारण गरिएको छ ।

घान्द्रुकमा अहिले ७० व्यवस्थित होटल र १७ होमस्टे सञ्चालनमा छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादित खाद्यान्न पस्किनेछ भने स्थानीय कला संस्कृतिसँगै विभिन्न प्रतियोगिताबाट मनोरञ्जन प्रदान गरिने आयोजकले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width