लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा जितबहादुर गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०८०
Loktantrik Adhibesan Photo 1

पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी अध्यक्षमा जितबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार प्रथम अधिवेशनले उनको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।

उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिव क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए ।

सदस्यमा प्रमिला राना मगर गुरुङ, छन्दी गुरुङ, कुमबहादुर गुरुङ, कृष्णा थापा आले, रामजी श्रेष्ठ, तुलसी पुर्जामगर, सनबहादुर रानामगर, इन्द्रबहादुर पुन, हिरा घर्ती, सावित्री भुजेल, धनबहादुर कुमाल, तोत्रोमान गुरुङ, दुर्गाबहादुर गुरुङ छन् । यस्तै, सदस्यमा हिरादेवी महतो, मोहनहरि श्रेष्ठ, रेशम बाच्येमगर, अमर थापामगर, मनबहादुर गुरुङ, रिम्क गुरुङ, कविता भुजेल, द्रोण छन्त्याल, भीमबहादुर तामाङ र वीरबहादुर दरै चयन भए । सदस्यमध्ये पछि कोषाध्यक्ष छानिने प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले बताए । पछि ८ जना मनोनीत हुनेछन् ।

अधिवेशनको नेपाली कांग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्दै पार्टी संगठन बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पार्टीका भातृ एवं शुभेच्छुक संगठन बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । खड्काले प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोडेर धोखा दिएको बताए । खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताए ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नु पर्ने, आदिवासी जनजातिको अधिकारलााई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उनको जोड थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो । ‘जनजातिहरुमा खुलापन छ, त्यो भनेकै प्रजातन्त्र हो,’ उनले भने, ‘उनीहरुले आदिमकालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्रबिच पहिल्यैदेखिको सम्बन्ध छ ।’

कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, प्रदेशसभा सदस्य बिमला गौचन, सरस्वती गुरुङ, जित शेरचन, जितप्रकाश आले, तमु संघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङ, महासंघ कास्की अध्यक्ष आशबहादुर गुरुङ लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width