फेवा नव वर्ष महोत्सवमा २० प्रतिशतसम्म छुट

आदर्श समाज सम्वाददाता
चैत्र २, २०८०
fewa

पोखरा । होटल संघ पोखरा नेपालले १९ औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट नम्बर १ देखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ वर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव वर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

यही चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अगाडि बढाइएको छ । यही खुसीमा नयाँ वर्षमा पर्यटकलाई होटलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पारे ।

संघले विगत दुई दशक अघिदेखि नेपाली नयाँ वर्षको अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी संघले अगाडि बढाएको हो ।

कोभिड १९ पश्चात् पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य महोत्सवले लिएको छ ।

महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभूषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै