पोखराको विन्ध्यवासिनी सहकारी ठगी प्रकरणमा अध्यक्षसहित ३ पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन २१, २०८०
sahakari

पोखरा । पोखरामा अर्को सहकारी संस्था ठगी प्रकरणमा अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ९, न्यूरोडमा कार्यालय रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ७ करोड रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष ५६ वर्षीय सुवर्णमान नकर्मीसहित सहकारी सञ्चालक समिति सदस्य एवं ऋण समिति संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र ४५ वर्षीय उदित सन्दीप पौडेललाई आइतबार पक्राउ गरेको हो ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

सहकारी समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारी रकम हिनामिना, अपचलन एवं ठगी गरेको भनी सहकारी रजिष्ट्रार कार्यालय पोखरामा जाहेरीको आधारमा मुद्दा दर्ता भएको हो ।

स्रोतका अनुसार छानबिनमा झण्डै ७ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन प्रहरीसमक्ष पुगेको छ ।

सहकारी अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदीले अन्य पदाधिकारीको किर्ते हस्ताक्षर गरी सहकारीको जग्गा तथा रकम दुरुपयोग गरेको भेटिएको छ । उनीहरुले सहकारीको नामको ३ रोपनी जग्गा बगालेटोलको लेकसिटी हस्पिटललाई बेचेका थिए । उक्त कार्य बाहिरिएपछि गत पुस २६ मा उनीहरु दुवैले ८ दिनभित्र उक्त जग्गा संस्थाको नाममा ल्याउने र त्यसो गर्न नसके आधाआधा रकम व्यहोर्ने सहमति गरेका थिए । तर यतिका समय बितिसक्दा पनि जग्गा सहकारीको नाममा आउन सकेको छैन ।

लेकसिटी हस्पिटलका अध्यक्ष उदित सन्दीप र सहकारीका सचिव गंगाधर भाइनाताका हुन् । स्याङ्जाको फेदीखोला गाउँपालिका ७ का गंगाधर पोखरामा अपेक्षा बुक्स एन्ड स्टेसनरीसमेत चलाउँछन् ।

त्यसैगरी कृष्णमान श्रेष्ठलाई सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको कास्की प्रहरीले जनायो । उनले अध्यक्ष नकर्मी र सचिव सुवेदीसँगै आफ्नो नामको संयुक्त खाता सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width