कास्की मोर्डनाइज्डको रजत महोत्सव शुक्रबार

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
kma news

पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमीले रजत महोत्सव यही शुक्रबार भव्य कार्यक्रमबीच सम्पन्न गर्दैछ ।  स्थापनाको २५ औं वसन्त पार गर्दै गरेको अवस्थामा विद्यालयले यो वर्षभरि विविध कार्यक्रम गरेको हो ।

विद्यालयले यस अवधिमा अन्तरविद्यालय जिल्लास्तरीय युगल नृत्य, चित्रकला, लोकगीत प्रतियोगिता गरिसकेको छ । रक्तदान कार्यक्रम, नेत्रहीनका लागि सेतो छडी वितरण, सडकमा गाएर गुजारा चलाउनेहरुका लागि स्वीटरसमेत वितरण गरेको थियो । जिल्लास्तरीय प्रतियोगिताका विजेतालाई २६ माघ, शुक्रबार हुने रजत महोत्सव समापन समारोहमै पुरस्कार वितरण गरिने सहायक प्रधानाध्यापक शिवलाल उपाध्यायले बताए ।

सो समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले रजत स्तम्भ अनावरण गर्ने कार्यक्रम छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, भूपू विद्यार्थी, भूपू शिक्षक गरी करिब ५ हजार जनाले उपस्थित जनाउने विद्यालयको अपेक्षा छ ।

कार्यक्रममा लोकसंगीत क्षेत्रबाट नारायण रायमाझी, हास्यव्यङ्ग्य कलाकारिता क्षेत्रबाट शैलेन्द्र सिंखडा, शिक्षा क्षेत्रबाट प्राडा गणेशमान गुरुङलाई नगद र ताम्रपत्रसहित अभिनन्दन गरिने छ । साथै शिक्षक, कर्मचारीहरुलाई दीर्घसेवा तथा केएमए रत्नपदकद्वारा सम्मान गरिने छ । रजत महोत्सव अवसर पारेर विद्यालयले रेडक्रस सोसाइटीको निर्माणाधीन भवनलाई ७० हजार र महावीर पुन आविस्कार केन्द्रलाई ५० हजार सहयोग गर्ने जनाएको छ ।

उक्त समारोहमा विद्यार्थीद्वारा निर्मित सामग्रीको शैक्षिक प्रदर्शनी, होटल म्यानेजमेन्टका विद्यार्थीले खाजा र चिया कफी डेस्क सञ्चालन, कास्की मोर्डनाइज्डमै पढेर अहिले डाक्टर र नर्स बनेकाहरुले हेल्थ क्याम्पस चलाउने छन् ।

कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, चित्रकला, मार्सल आर्ट, स्काउट सलामी, योगा, नाटक एवाकस आदि प्रस्तुत गर्नेछन् । गत वर्षको विभिन्न पुरस्कारसमेत सोही अवसरमा वितरण गरिने छ ।

२०५५ सालमा ९० विद्यार्थी र १३ शिक्षक लिएर पोखरा–१०, शिवचोकमा रामबहादुर मोचीद्वारा स्थापना गरिएको विद्यालय हाल पोखरा १४, चाउथेमा सुविधासम्पन्न भवनमा सञ्चालित छ । विद्यालयमा हाल २ हजार जना विद्यार्थी पढ्छन् । १ सय ६० शिक्षक कर्मचारी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width