टाइगर कप भलिबल : अरुणाको टिम प्रतिस्पर्धाबाट बाहिरियो

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
tiger cup final

पोखरा । पोखरा रंगशालामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ‘ए’ मा रहेको विभागीय एपिएफ ५ अंकसहित समूह विजेता बन्यो । उसले अब त्रिभुवन आर्मीसँग बिहीबार पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । ४ अंक बटुलेको आर्मी समूह ‘बि’ को उपविजेता हो ।

यस्तै, चन्द्रागिरी नगरपालिका न्यू डायमण्डले समूह एको उपविजेता नेपाल पुलिससँग दोस्रो सेमिफाइनल खेल्नेछ । डायमण्डले ६ र पुलिसले ३ अंक जोडेका थिए ।

बुधबारको खेलबाट महिलातर्फ अन्तिम चारको टुंगो लाग्दा घरेलु टोली र भारतको हरियाणा क्लब बाहिरिएका हुन् । गण्डकी भलिबल संघका लागि अरुणा शाही कप्तान थिइन् । उनी नेपालको महिला भलिबल टिमका कप्तानसमेत हुन् । घरेलु टोलीसहित हरियाणा टोली समान २ खेलमा अंकविहीन हुँदै घर फर्फिएका हुन् ।

महिलातर्फ एपिएफ, न्यू डायमण्ड, आर्मी र नेपाल पुलिस सेमीमा

बुधबार पहिलो खेलमा एपिएफले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको छ । जसमा एपिएफकी निरुता ठगुन्ना टाइगर अफ दि म्याच बनिन् ।

न्यू डायमण्ड एकेडेमीले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको थियो । खेलमा डायमण्डकी सुमित्रा रेग्मी टाइगर अफ दिन म्याच भइन् ।

यस्तै, पुरुषतर्फ समूह ‘बि’ को नेपाल पुलिसले एपिएफ क्लबसँग लिग चरणमा ३–० ले हार व्यहोर्दा घर फर्किन बाध्य भयो । एपिएफ र श्रीलंका आर्मी टिम समान ३ अंकसहित अन्तिम चारमा प्रवेश गरे । गण्डकीले त्रिभुवन आर्मीसँग बिहीबार अन्तिम लिग खेल्नेछ । यी दुवैको उद्घाटन खेल लाइट प्रोटेस्टले रोकिएको थियो । उक्त खेलबाट अन्तिम चारमा जाने टिमको टुंगो लाग्नेछ ।

बुधबार पुरुषतर्फ लिग चरणको खेलमा नेपाल पुलिसले श्रीलंका आर्मी टिमलाई ३–१ ले पराजित गरेको थियो । पहिलो सेट विशाल ४१–३९ सेटमा सकिएको थियो । पहिलो सेट ४१–३९ मा जित्न सफल हुँदा दोस्रो सेट २५–१३ ले पाहुना टोलीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो २५–१७ ले जिते पनि पुलिस खेलबाट बाहिरिन पुग्यो । पुलिसका रविन चन्द टाइगर अफ दिन म्याच भए ।

घरेलु टोली गण्डकी भलिबल संघले टिप टप हेल्प नेपालसँग ३–२ सेटको जित निकालेको छ । गण्डकी प्रदेश भलिबल संघ र ३ पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल ३–२ ले जित निकालेको छ । खेलमा गण्डकीका अमित गुलिया टाइगर अफ दि म्याच भए ।

जितसँगै गण्डकीले २ अंक जोडेको छ । हेल्प नेपालले कुल ४ अंक प्राप्त गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ । आगामी ६ माघसम्म चल्न प्रतियोगिताका विजेतालाई साढे ५ लाख पुरस्कार व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width