वैदेशिक रोजगारका पीडा : जाँदा आकाशमा, फर्कंदा बाकसमा

विजय नेपाल
पौष २१, २०८०
OIG

पोखरा । वैदेशिक रोजगारीका क्रममा गत वर्ष १ हजार २ सय ८ जना नेपालीको विदेशमै मृत्यु भएको छ । यस्तै ३ सय ३५ जना अंगभंग भए ।

वैदेशिक रोजगार विभागका अनुसार मृत्यु हुनेको संख्या अघिल्लो आवको तुलनामा केही घटे पनि अंगभंग हुने संख्या सयभन्दा बढी हो । आव २०७९/८० मा नेपालबाट विभिन्न उद्देश्यले विदेशिएका ७ लाख ७१ हजार ३ सय २७ मध्ये १ हजार २ सय ८ जनाको मृत्यु भएको हो । अघिल्लो आव २०७८/७९ मा १ हजार ५ सय ९ जनाको मृत्यु भएको थियो भने २ सय १६ जना अंगभंग भएका थिए । त्यस वर्ष ६ लाख ३० हजार ९० जना विदेशिएका थिए ।

त्यस्तै, आव २०७७/८८ मा १ लाख ६६ हजार ६ सय ९८ जना विदेशिएका थिए । तीमध्ये १ हजार २ सय ७५ जनाको मृत्यु र १ सय ६१ जना अंगभंग भएका थिए । आव २०७७/७८ मा ज्यान गुमाउने संख्या विगत ५ वर्षयताकै सबैभन्दा बढी हो । त्यसो त, पछिल्लो ३ वर्षयता विदेशिनको संख्या पनि क्रमशः बढ्दो रहेको विभागले जनाएको छ ।

आव २०७६/७७ मा विदेशिएका ३ लाख ६८ हजार नेपालीमध्ये ६ सय ८० को मृत्यु तथा २ सय ७८ जनाको ज्यान गएको थियो । त्यस्तै, आव २०७५/७६ मा २ लाख ३६ हजार विदेशिएकोमा ७ सय ५३ जनाको मृत्यु र २ सय ८६ जनाको अंगभंग भए ।

नेपालीहरु खासगरी वैदेशिक रोजगारी, विद्यार्थीको रुपमा, पारिवारिक निर्भरताको रुपमा, घुम्ने बहाना, भारतीय बाटो र अवैधानिक तरिकाबाट विदेसिने गरेका छन् । विद्यार्थीको रुपमा जान बर्सेनि औषत १ लाख एनओसी जारी हुने गरेको पाइन्छ । यी तरिकाबाट करिब २ देखि ३ लाखसम्म नेपालीहरु बर्सेनि विदेसिने गरेको विभागले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीका क्रममा गत वर्ष १२ सय २८ जना नेपालीको मृत्यु भएको छ

वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा हालसम्म १ सय ११ मुलुक खुला गरिएकोमा अफ्गानिस्तान, लिविया र इराकमा जान पाइँदैन ।

गत आव २०७९/८० मा श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) प्रदान गरिएको संख्या ७ लाख ७१ हजार ३ सय २७ थियो । तीमध्ये महिला ७२ हजार १ सय ३४ अर्थात् ९ दशमलब ३५ प्रतिशत थियो ।
वैदेशिक रोजगारीका लागि नेपालीको मुख्य गन्तव्यस्थल खाडी मुलुकहरु हुन् । जसमा मलेसिया, कतार, दुवई, कुवेत, दक्षिण कोरिया, रोमानिया, क्रोयसिया, माल्टा, साइप्रस र माल्दिभ्स गरी १० मुलुक छन् ।

प्रतिवर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण मानिस वैदेशिक रोजगारीका लागि आकर्षित हुने गरेको पाइन्छ । हाल नेपालमा दैनिक २२ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् । नेपालबाट श्रम स्वीकृति लिएर यसरी जानेको संख्या हालसम्म ७१ लाख नाघिसकेको छ । तीमध्ये कतिपय फर्केका पनि छन् ।

वैदेशिक रोजगारी सोचेजस्तो सुरक्षित भने छैन । चाल आवको चौमासिकमा गण्डकी प्रदेशबाट विदेशिएकामध्ये ६५ जनाको विदेशमा ज्यान गएको छ । तीमध्ये सबैभन्दा धेरै नवलपरासीका १६, कास्की र स्याङ्जाका ११÷११ जना हुन् । यस अवधिमा गण्डकीबाट २८ हजार १ सय १४ जना वैदेशिक रोजगारीका लागि गएका थिए । तीमध्ये ३ हजार २ सय ४६ महिला हुन् । चालु आवकै चौमासिकमा गण्डकीका ११ मध्ये तनहुँ जिल्लाबाट सबैभन्दा धेरै ३ जार ९ सय १३ जना वैदेशिक रोजगारीका लागि गएको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width