मानवीय त्रुटिले यतीको जहाज दुर्घटना

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
yeti photo sudarshan

सन् २००७ सालमा निर्मित एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको दुर्घटनामा परेको यती एअरको सो जहाजले १५ वर्षदेखि उडान भर्दै आएको थियो । फ्रान्सको विज्ञ टोली दुर्घटनास्थलको अध्ययन गर्दै । फाइल तस्बिर : सुदर्शन रञ्जित

पोखरा । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ ।

पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।

प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए । २०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width