पोर्चुगलमा हत्या गरिएका क्षेत्रीका परिवारलाई खौलालाँकुरी पोखरा सम्पर्क समाजको सहयोग

आदर्श समाज सम्वाददाता
पौष ६, २०८०
khaula (1)

पोखरा । आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमिमा निधन भएका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका युवा धनबहादुर क्षेत्रीको परिवारलाई खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराले आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका ३६ वर्षीय क्षेत्रीको गत मंसिर ७ मा उपचारका क्रममा मृत्यु भएको थियो । आफ्नै साथीको छुरा प्रहारबाट गम्भीर घाइते क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो ।

सम्पर्क समाजले विभिन्न व्यक्तिहरुबाट संकलन गरेको ६६ हजार रुपैयाँ स्वर्गीय क्षेत्रीको घरमै पुगेर बाबु शेरबहादुर र पत्नी सरस्वती क्षेत्रीलाई हस्तान्तरण गरेको समाजका सचिव लालप्रसाद शर्माले बताए ।

समाजका अध्यक्ष जीतेन्द्रबहादुर कुँवर र कुश्मा– १३ का अध्यक्ष तेजप्रसाद शर्माले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष कुँवरले उपाध्यक्ष शिवलाल विश्वकर्मा, सचिव लालप्रसाद शर्मा र कोषाध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले कुनपा १३ का वडाध्यक्ष तेजप्रसाद शर्मामार्फत् उक्त रकम परिवारजनलाई हस्तान्तरण गरे । उक्त अवसरमा समाजका अध्यक्ष कुँवरले क्षेत्रीको मृत्युले समाज स्तब्ध भएको बताए ।

गाउँले एउटा होनहार युवा गुमाएको भन्दै उनले शोकलाई शक्तिमा बदल्न शोकाकुल परिवारजनमा आग्रह गरे । वडाध्यक्ष शर्माले क्षेत्रीको मृत्युले सम्पूर्ण वडावासी मर्माहत भएको उल्लेख गर्दै सम्पर्क समाज लगायत विभिन्न संघसंस्था र व्यक्ति विशेषले सहयोग गरेर दुखमा हामी छांै भन्ने सन्देश प्रवाह गरेको बताए ।

समाजका उपाध्यक्ष शिवलाल विश्वकर्मा र निवर्तमान अध्यक्ष धर्मबहादुर केसीले शोकको यस घडीमा हामी र सम्पर्क समाज साथमा रहेको उल्लेख गरे । खौलालाँकुरी पोखरा सम्पर्क समाज कुश्मा नगरपालिका वडा नं १३ खौलालाँकुरी स्थाइ घर भई हाल पोखरामा स्थायी वा अस्थायी बसोबास गर्नेहरुको संस्था हो ।

Related News

सम्बन्धित समाचार

hero news full width