सिद्धि–सेतुली स्मृति प्रतिष्ठान अध्यक्षमा दीपेन्द्र

आदर्श समाज सम्वाददाता
पौष १, २०८०
siddi setuli

पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको नवौं अधिवेशनले दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा प्रमिला तझ्या, सचिव इन्द्रकमल मानन्धर र कोषाध्यक्षमा गोविन्द ताम्राकार चयन भए । सदस्यहरू लोकदर्शन कोइराला, सुरेश मानन्धर, विनोद शाक्य, सतकुमारी शेरचन र श्रुति मुल्मी रहेका छन् ।

पूर्व अध्यक्ष नरेन्द्र लालचनको संयोजकत्वमा संस्थापक संरक्षक विश्वरत्न शाक्य र कार्यसमिति सदस्य रजनी केसी रहेको ३ सदस्यीय समितिले निर्वाचन सम्पन्न गरेको थियो ।
प्रतिष्ठानको १७ औं स्थापना दिवस समारोहसहितको उक्त अधिवेशनको उद्घाटन गर्दै पूर्व अध्यक्ष भूपनिधि पन्तले प्रतिष्ठान कल्याणकारी संस्था भएको बताए ।

प्रतिष्ठानबारे जानकारी दिँदै संस्थापक संरक्षक विश्वरत्न शाक्यले जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको छ, त्यही कार्यमा लगाउने गरिएको उल्लेख गरे ।

कार्यक्रममा सदस्य लक्की कार्की र डा. अनील सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठले आगामी कार्यक्रमको क्यालेन्डर बनाएर काम गर्ने बताए ।

उद्घाटन समारोहबीच पोखरा–१७ बिरौटा निवासी रविना पराजुलीले आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक छात्रवृत्तिका लागि प्रतिष्ठानलाई ५० हजार २१ रुपैयाँ प्रदान गरेकी थिइन् ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ सदस्य प्रेमराज अधिकारीले स्वागत र सदस्य सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेका थिए । सभाले सचिव मानन्धरद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द ताम्राकारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width