‘जाउँ है पोखरा’ अभियानमा विभिन्न प्याकेज

आदर्श समाज सम्वाददाता
पौष १, २०८०
jau hai pokhara

पोखरा । होटल संघ पोखरा नेपालले गण्डकी प्रदेश घुमघामको नयाँ प्याकेज सार्वजनिक गरेको छ ।

दुई दशकअघि सुरु ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत भैरहवामा शनिबार आयोजित कार्यक्रममा संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज सार्वजनिक गरेको हो । जसमा होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज २ देखि ४ रातसम्मका र ३ हजारदेखि २६ हजार मूल्यबीचका छन् ।

संघले नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारदेखि ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप अभियानले भैरहवाका अतिरिक्त नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ ।

अन्तक्र्रियामा सिद्धर्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रुपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरुको दबाबमूलक आन्दोलन जारी रहेको उनले सुनाए ।

पोखरामा हाल १२ सय होटलमा ४० हजार बेड छन्

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको दोहोर्‍याए ।

पत्रकार माधव ढुंगानाले पोखरा र गौतम बुद्ध विमानस्थलको यथोचित सञ्चालनका लागि सरकारलाई दबाब दिनुपर्ने बताए । पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने भनाइ राखे । भारतीय पर्यटकका पाँच सय गाडी बेलहिया नाकाबाट पार हुने गरेको जानकारी पनि उनले दिए ।

पोखरा घुम्ने पर्यटकमध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको होटल संघ अध्यक्ष सुवेदीले सुनाए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए । नाट्टा गण्डकीका अध्यक्ष रचना पन्तले पनि बोलेकी थिइन् । गएको कात्तिकमा पूर्वी नेपालका विभिन्न शहरमा पनि संघले यो अभियान सञ्चालन गरेको थियो ।

पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ ।

पोखरामा हाल १ हजार २ सय होटलमा ४० हजार बेड छन् । यस क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै