रातिको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा हालसम्म ६३ जनाको निधन, प्रधानमन्त्री जाजरकोट जाने

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
bhukampa

पोखरा ।  जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति  गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी हालसम्म ६३ जनाको निधन भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार  बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको शव भेटिएको छ । सय जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width