ललितकला प्रज्ञाप्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानबीच सहकार्यको सहमति

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०८०
gandaki

पोखरा । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएका छन् । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर दूई प्रतिष्ठान बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली र गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अब दुई प्रतिष्ठान मिलेर चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कला समेत समेटी मुलुकभर ती कला बिधाहरुको विकास, प्रबर्धन र सम्बर्धनका लागि काम गर्नेछन् ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले विगतमा ललितकला क्षेत्र पछाडि परेपनि यसको छुट्टै विभागको रुपमा ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि यो क्षेत्रमा आवद्ध कलाकारलाई केही सहजता भएको बताए । ललितकला प्रज्ञा प्रतिष्ठान स्थापना र हालसम्म भएका केही गतिविधिको बारेमा समेत बोलेका उनले समझदारीसँगै गण्डकी प्रदेशमा ललितकला क्षेत्रमा नयाँ आयाम आउने विश्वास व्यक्त गरें ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार लम्साल थुम्केलीले केन्द्रमा मात्र बढी चलायमान भएको ललितकलालाई विकेन्द्रित गर्दै सातै प्रदेशमा लैजाने योजना अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानसँग समझदारी गरिएको बताए । समझदारीसँगै गण्डकी प्रदेशमा कला क्षेत्रमा गर्ने काम साझेदारी ढंगले गर्ने काम गरिने उनले बताए । यो वर्ष सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्ने तयारी आफूहरुको  रहेको उनले खुलाए । ललितकला क्षेत्र अरु क्षेत्र जसरी तल्लो तहसम्म पुग्न नसकेको बताउँदै त्यसमा केही सिमाहरु रहेको उनले बताए । ‘यो वर्ष सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्ने तयारी गरेका छौं, बुझाई र गराईका कमीलाई सुधार्दै ललितकला क्षेत्रलाई तलैसम्म लैजाने लक्ष्य अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानसँग मिलेर काम गर्न समझदारी गरेका हौं’ उनले भने ।

गण्डकी–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले सम्झौतासँगै गण्डकी प्रदेशको ललितकला क्षेत्रमा नयाँ रौनकता थपिने बताए । उनले गण्डकी प्रदेशलाई ललितकलाको क्षेत्रमा कता मोड्ने भन्ने कुराको चाबी कलाकारको हातमा भएकोले यसमा कलाकारको साथ आफूहरुलाई आवश्यक पर्ने समेत सुनाए । तीहार पछाडि १६ दिने कला प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको र त्यो प्रदर्शनीमा दूई प्रतिष्ठानको अलावा सिर्जनशिल कलाकार समुहको सहकार्य रहने श्रेष्ठले खुलाए । प्रदर्शनीकोे माध्यमबाट आर्ट ग्यालरी पोखरामा कहाँ छ भनेर चिन्ने अवसर पाउने, राज्यका निकायमा काम गर्नेलाई पनि चित्रको बारेमा बुझ्ने अध्ययन गर्ने अवसर पाउने उनको भनाई छ । ललितकला क्षेत्रमा धेरैं विद्यालयका विद्यार्थीको रुचि समेत भएकोले उनीहरुमाझ यो क्षेत्रमा लागेका कलाकारलाई चिनाउने अभिलाषा आफुहरुको रहेको उनले खुलाए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै उनले नेपालका सबै प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्ने योजना अनरुप नै समझदारी गरिएको बताए । यो समझदारीसँगै ललितकला क्षेत्रका विभिन्न गतिविधि गण्डकी प्रदेशमा सञ्चालन गरिने उनको भनाई थियो ।

एम.ओ.यू. सम्झौतासँगै अब दूई प्रतिष्ठान मिलेर ललितकलाको अध्ययन अनुसन्धान, कला कार्यशाला, प्रशिक्षण, तालिम, गोष्ठीहरुमा सहकार्य गर्ने, ललितकला नीति, अनुसन्धान, अनुगमन, मूल्यांकन तथा तत्सम्बन्धी सार्वजनिक नीति र सम्बन्धित विषयमा संवाद गर्ने, संयुक्तरुपमा ललितकला सम्बन्धी खोज–अनुसन्धान र प्रकाशन लगायतका कार्य गर्नेछन् ।

यसैगरी संयुक्तरुपमा राष्ट्रिय, प्रादेशिक तथा पालिकास्तरका ललितकला प्रदर्शनी गर्ने, संग्रहालय, कलादीर्घा (ग्यालरी) निर्माण, पार्क, मूर्ति बगैँचा, स्मारक, स्तम्भ, सहरको सौन्दर्यकरण आदि कार्यमा सहकार्य गर्ने, ललितकला सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी, गोष्ठी, कार्यशाला, कलाकार आदानप्रदान जस्ता कार्यक्रमहरुमा सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width