जलवायु परिवर्तनको असर झेल्दै मुस्ताङवासी

धनबहादुर गुरुङ
कार्तिक २, २०८०
Mustang Photo 4

मुस्ताङ। कागबेनी बजार गत साउन २८ गते बाढीले बगायो । राती ७ बजेतिर कागखोलामा आएको बाढीले २९ वटा घरटहरा र केही सवारीसाधन बगायो । दिउँसैदेखि सूचना प्रभाव भएकाले धनको नोक्सान भएपनि जनको क्षति हुन पाएन् । सोही स्थानकी कर्मा नामगेल गुरुङले आफ्नो घर पुरै बगाएपनि मानविय क्षति नभएको बताइन् । ‘दिउँसैदेखि खबर थियो । हामी सुरक्षित स्थानमा गयौं । हेर्दा हेर्दै घर सबै बगाएर लग्यो,’ उनले भनीन् ।

२०६० को दशकदेखि मुस्ताङमा पानी परेको थाहा पाएका उनले मुस्ताङमा ठूलो क्षति बनाएको देखेकी थिइनन् । पहिले पानी नपर्ने मुस्ताङमा पानी पर्नु अनि बाढी पस्नु जलवायु परिवर्तनको असर भएको उनले सुनाइन् । ‘पहिला मुस्ताङमा पानी नै पर्थेन । १०÷११ वर्ष अघिदेखि पानी अलिअलि परेको थाहा छ । यसरी बाढी आएको त थाहा थिएन्,’ उनले भनीन्, ‘यो वर्ष त साह्रै भयो । मेरो त पुरै घर बगायो । सामान बग्यो कति हो कित क्षति भयो । यो सबै भएको जलवायु परिवर्तनले गर्दा हो ।’

मुस्ताङमा बाढी गएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय जलवायु क्षेत्रमा काम गर्नेहरुको ध्यान पुगेको छ । यसमा नेपाल सरकारको पनि चासो बढेको छ । यही बिचमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत मन्त्रीहरु पुगेर कागबेनीको बाढीसँगै समग्र मुस्ताङको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
यसैबिच बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ पुगेर त्यहाँका स्थानीयको समस्या सुनेका छन् । बुधबार बिहान नेपाल आर्मीको हेलिकप्टर मार्फत जोमसोम विमानस्थलमा पुगेका प्रचण्डलेक जोमसोम उत्रिएलगत्तै हेलीमा कोरला नाका र कागबेनी क्षेत्र अगलोकन गरे ।

त्यसपछि जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भए । त्यहाँ प्रधानमन्त्री दाहाल समक्ष स्थानीयले पर्यावरण जोगाइदिन माग गरेका थिए । स्थानीय चन्द्रबहादुर थकाली पछिल्लो समय मुस्ताङमा जलबायु परिवर्तनका कारण मुस्ताङबासीले मानविय र र्भौतिक क्षति बढेकाले न्यूनिकरणका लागि सरकारसँग आग्रह गरे । ‘जलवायु परिवर्तनको असर हाम्रो जिल्लामा सबैभन्दा बढि परेको छ,’ स्थानीय चन्द्रबहादुरले भने, ‘यहाँको तापक्रम बढ्दै गएको छ । हिमालबा हिउँ पग्लदै गएको छ । यसका कारण उपल्लो मुस्ताङको मानिसहरु विस्तापित पनि भएका छन् ।’

जलवायु परिवर्तनका कारण मुस्ताङमा उत्पादन हुने स्याउ लगायत अन्य बालीमा रोग किराको प्रकोप बढिरहेको पनि उनले बताए । उनले भने, ‘पुस माघमा पर्नुपर्ने हिउँ फागुन चैतमा पानी र हिउँ पर्नाले यहाँको स्याउ खेतीमा असर परेको छ ।” उपल्लो मुस्ताङमा घर पालुवा जनावर घट्दै गएको उनले बताए । कमुस्ताङी जनताहरुले झेल्नुपरेको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने स्थानीय चन्द्रबहादुरको भनाइ थियो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण मुस्ताङमा वर्र्षासँगै बेमौसमी हिमपात भएकाले पालिका भित्र ठूलो क्षति भएको बताए । ‘गत वर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,’ गाउँपालिका अध्यक्ष रिङजिनले भने, ‘यस वर्ष पनि साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पु¥याएको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरणका लागि संघीय सरकारले ध्यान दिन जरुरी छ ।’
प्रदेश सभा सदस्य विकल शेरचनले वातावरण अनुकुल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरित गृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने बताए । यसमा तीन तहकै सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताए । उनले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गरे । ‘जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।’

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताए । ‘नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।’

उनले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताए । उनले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने ५० करोड रुपैयाँ मुस्ताङमा खर्च गरिने जानकारी पनि दिए ।

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायुु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न वातावरणमैत्री विकासको आवश्यकता रहेको बताए । ‘अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ,’ उनले भने, ‘भोलि के हुन्छ भन्ने अनुुमान र विश्लेषण नगरी विकासका काम गर्ने प्रवृति रोक्नलाई अनुुरोध गर्दछु ।’ उनले मानवीय लापरबाही र गतिविधिका कारण वातावरणमा परेको असर तथा क्षति न्यूनीकरण गर्न विकाससँगै संरक्षणको काम पनि गर्नुु आवश्यक देखिएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले जलवायुु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरिक्षण र नागरिकको गुुनासो सुुनेर अन्तराष्ट्रिय जलवायुु सम्मेलनमा उठाउनका लागि प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा संवाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width