सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई जेल चलान

विजय नेपाल
असाेज २१, २०८०
surya darshan (4)

अदालतमा थुनछेक बहस चलिरहँदा अदालतबाहिर जम्मा भएका सूर्यदर्शन सहकारी पीडित । तस्बिर : विजय नेपाल

पोखरा । सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा गएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

‘प्रतिवादीले यस अदालतमा बयान गर्दा सहकारी ठगीको कसुर गरेकोमा इन्कारी बयान गरेको देखिए तापनि सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र प्रमाणबाट यी प्रतिवादी वारदातमा संलग्न रहेन छन् भन्ने भन्न मिल्ने नदेखिँदा’ प्रतिवादीलाई थुनामा पठाउने,’ भन्ने व्यहोराको आदेश दिइएको हो ।

थुनछेक बहसमा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरवालाको तर्फबाट अधिवक्ताहरु नारायणप्रसाद शर्मा, युवराज पराजुली, विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए । यस्तै, प्रतिवादी रम्तेलको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनालाई प्रतिवादी बनाई अभियोग दायर गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म फरार सहकारीका पूर्व अध्यक्ष एवं संस्थापक गितेन्द्रबाबु (जिबी) राईसहित १८ जनाको हकमा अदालतले म्याद जारी गर्नेछ ।

उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनभन्दा १५ लाख बढी बिगो थपेर अभियोग दायर गरेको थियो । उक्त कसूरमा सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम १ अरब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराइ बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । जसमा १ हजार ३५ जनाको उजुरी परेको उल्लेख गर्दै मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता ढकालले बताए । रम्तेल पक्राउ परेको २४ औं दिनमा प्रहरीले अनुसन्धान सकेर १६ असोजमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । जसमा १ अर्ब ११ करोड १९ लाख बिगो भराई बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको थियो ।

पोखरा–३, तेर्सापट्टीमा कार्यालय रहेको सूर्यदर्शन सहकारीले गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि ठगी प्रकरण बाहिरिएको हो । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी जाहेरी संकलन गरेको थियो । सोबमोजिम २४ भदौमा जिबि राईसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै रम्तेल पक्राउ परेका थिए । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न गठन गरिएको विज्ञको प्रतिवेदनबमोजिम थप १२ गरी सहकारीका पूर्व सञ्चालक, हालका सञ्चालक, कर्मचारी लगायत गरी कुल १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । रम्तेल पक्राउ परे पनि अरु १८ जना हालसम्म पक्राउ नपर्नुले भने पीडित बचतकर्ता आक्रोशित छन् । आइतबार थुनछेक बहस हुने भएपछि करिब ३ सय जनाको संख्यामा जिल्ला अदालत परिसरमा उनीहरुले धर्ना दिएका थिए ।

सहकारीका सानाठूला १८ हजार ७ सय जना बचतकर्ता छन् । अभियोगपत्र अनुसार सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर थुप्रै बचतकर्ताको लाखौं रुपैयाँ अपचलन गरेको भेटिएको छ । सहकारीमा ७ सयदेखि ७ करोड ९२ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ता रहेको सूर्यदर्शन सहकारीपीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए । यो प्रकरणमा थुप्रै बचतकर्ता पीडित रहेको उल्लेख गर्दै उनले बाँकी अभियुक्तलाई पक्राउ गर्न नसक्नुले भने राज्यको सुरक्षा संयन्त्र कमजोर हुँदै गएको टिप्पणी गरे ।

उक्त अभियोगमा सञ्चालक समिति कोपाध्यक्ष रम्तेलसहित पूर्व अध्यक्ष एवं संस्थापक गितेन्द्रबाबु (जिबी) राई, सञ्चालक समिति अध्यक्ष थानबहादुर बुढामगर, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, सदस्य हेमन्त अधिकारी, सदस्य प्रमोद भट्टराई, लेखा समिति संयोजक सागर केसी, लेखा समिति सदस्य दिनेश रोका, अर्का सदस्य ललिता तामाङ, पूर्व अध्यक्ष एवं संस्थापकहरु पूर्व अध्यक्ष भूपेन्द्र राई, अनुज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङलाई प्रतिवादी बनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width