पोखरामा पनि मनाइयो गौरा पर्व

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०८०
gaura pokhara (1)

पोखरा । सुदूरपश्चिममा मनाइने गौरा पर्व पोखरामा पनि भव्यरुपमा मनाइएको छ । सुदुरपश्चिम सम्पर्क एवं विकास समाजद्वारा यस वर्षको गौरा पर्व बिरुडा खाँदै गौरा देवीको पूजा गरी डेउडा खेलेर मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका उपनेता एवं पूर्वमन्त्री विन्दुकुमार थापाले गौरा पर्व ऐतिहासिक र सास्कृतिक मात्र नभई एकताको सूत्रमा बाध्ने पर्वको रुपमा रहेको बताए । उनले सांस्कृतिक विविधता रहेको हाम्रो समाजमा सुदूरपश्चिमबासीको गौरा पर्व मनाउने प्रचलनले पोखरालाई थप सुन्दरता प्रदान गरेको बताए ।

पोखरा विश्वविद्यालयका डिन प्रा. राजेशकुमार ठकुराठीले गौरा पर्वको ऐतिहासिक महत्वको बारेमा प्रकाश पार्दै सुदुरपश्चिमका महिलाहरुको विशेष पर्व रहेको जानकारी दिए । समाजका उपाध्यक्ष डा.पदम खड्काले नेपालका सास्कृतिक पर्व मध्ये गौरा पर्वको इतिहास अझ गर्विलो रहेको भन्दै सबै नेपालीले मनाउनु पर्ने बताए ।

समाजका अध्यक्ष सागर ऐर र सचिव हरेन्द्र प्रसाद जोशीले पर्वको महत्वलाई बुझेर सरकारले सार्बजानिक बिदा दिनुपर्ने माग राखे । कार्यक्रममा कुश, काँस, सामा, तितेपाती र तिलको बोटबाट बनाइएको बोटको गौराको प्रतिमा र केराउ, गहत, मास, गहुँ लगायत ५ किसिमका गेडागुडी भिजाएर तयार पारिएको बिरुडाको प्रसाद ग्रहण गरी डेउडा खेलिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width