लालीगुराँसको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार २३, २०८०
laliguras

पोखरा । राष्ट्रिय फूल लालीगुराँस वृक्षरोपण अभियानको सातौं वर्ष अवसरमा शनिबार पोखरा–३३, भरतपोखरीमा वृक्षरोपण गरिएको छ ।

सित्तुम कस्यारी तथा सिमसार पातले स्वाँरा जुकेपानी सामुदायिक वन समूहको संरक्षकत्व रहने गरी पोखरा ३३, गैरागाउँस्थित ज्येष्ठ नागरिक सेवा केन्द्र गडगडे र नीलकण्ठेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गरिएको हो ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले लालीगुराँसको बिरुवा रोप्दै कार्यक्रम शुभारम्भ गरेकी थिइन् । उनले राष्ट्रिय फूलको संरक्षण गरी राज्यले पर्यटकीय तथा आर्थिक उन्नतिमा सबल बनाउनुपर्ने बताइन् । उनले यसको संरक्षणका लागि आफ्नोतर्फबाट सक्दो सहयो गरी पोखरा वरपरिका डाँडापाखामा लालीगुराँसको हव बनाउनुपर्ने बताइन् ।

७ वर्षदेखि विभिन्न ठाउँमा लालीगुराँस रोप्दै आएका अभियन्ता ढाकाराम लामिछानेले औषधीय गुण समेत रहेको लालीगुराँस संरक्षण हुनुपर्ने बताए । उनका अनुसार नेपालमा मात्रै ३३ प्रजातिका लालीगुराँस पाइन्छन् ।

पोखरा महानगरपालिकाले उपलब्ध गराएको लालीगुराँसका ३ सय, अमलाका १ सय ८० बिरुवा रोपिएको हो ।

समुदायिक समूहका अध्यक्ष विजयप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वातावरण शाखा प्रमुख निर्मलमान सिंह भण्डारी, जिल्ला वन महासंघ अध्यक्ष विश्व लामिछाने, पालिखे ढाकाटोपीका सञ्चालक राजेशमान पालिखे लगायतले बोलेका थिए । स्वागत अनिता आचार्य र सरस्वती आचार्यले गरेका थिए । सो अवसरमा सहभागीलाई पालिखे ढाकाटोपीका सञ्चालक राजेशमान पालिखेले लालीगुराँस अंकित ढाकाटोपी लगाइदिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width