महँगियो प्याराग्लाइडिङ

आदर्श समाज सम्वाददाता
असार १५, २०८०
para

पोखरा । पोखराको आकाशमा उड्न अब १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले ७ असारदेखि लागु हुने गरी प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।

यसअघि ८ हजार ५ सय रहेकोमा अबदेखि प्रतिउडान १२ हजार तिर्नुपर्ने भएको हो । ना अध्यक्ष सुनिल भट्टराईले भने, ‘हामीले असार ७ देखि लागु हुने गरी प्याराग्लाइडिङको रेट बढाएका हौं । पहिला ८ हजार ५ सय थियो अहिले त्यसलाई बढाएर १२ हजार बनाएका छौं ।’ १२ हजारमा इन्स्योरेन्स, पाइलटको खर्च पर्ने उनको भनाइ छ । पोखरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरुको खर्च बढेको र समय अनुसार रकम बढाएको उनले दाबी छ । पहिले तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुंगा पुगेको छ । जसले गर्दा खर्च बढेको उनले बताए ।

अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटहरुले प्रतिउडानको ६ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्व उपाध्यक्ष सोभित बानियाँले बताए । ‘असार ७ देखि एक फ्लाइटको ६ हजारको हाराहारीमा पाउँछन्,’ बानियाँले भने, ‘पहिला ३९ सय जति पाउथे । अब पाइलटहरुका लागि पनि राहत होला ।’ विदेशतिर प्रतिउडानको १ सय डलर लिने गरिएकाले नेपालमा १२ हजार रुपैयाँ बनाउँदा विदेशीका लागि केही फरक नपर्ने ना अध्यक्ष भट्टराईले बताए ।

नासँग ६० प्याराग्लाइडिङ कम्पनीहरु आवद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । सबै कम्पनीहरुमा गरी ३ सय ७५ जना लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल २ सय ५० जना पाइलटहरु सेवामा रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width