अरण्यज्योति कप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८०
cricket binod

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेड अरण्यज्योति क्रिकेट प्रतियोगितामा समूह ‘ख’ बाट पेलिकेन्स तनहुँ र सांग्रिला क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा जित हासिल गर्दै समान ४ अंकसहित यी दुई क्लबले सेमिफाइनलमा स्थान बनाएका हुन् । यो सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब आइतबार हुने सेमिफाइनलमा ग्रुप ए को विजेता अरण्यज्योतिले गु्रप बि को उपविजेता साँग्रिलासँग तथा ग्रुप बि को विजेता तनहुँले ग्रुप ए को उपविजेता बाग्लुङसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबारको पहिलो खेलमा सांग्रिलाले पल्सर सिइसीलाई २६ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको सांग्रिलाले कृष्ण कार्कीको ३२ तथा विपीन खत्रीको २५ रनको मद्दतमा पूरा २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । सिइसीका बलरहरू स्वरुप श्रेष्ठले ४ तथा किरण चन्दले १ विकेट लिए । प्रत्युत्तरमा सिइसीले पूरा २० ओभरमा ६ विकेट गुमाएर ८२ रनमात्रै बनाउन सक्यो । सिइसीका रित गौतमले ३६ तथा कृष्ण भट्टले १५ रन जोडे । बलिङतर्फ २ विकेट लिएका सांग्रिलाका कृष्ण कार्की म्यान अफ द म्याच चुनिए । अर्का बलर नारायण जोशीले पनि २ विकेट लिएका थिए ।

शनिबारकै अर्को खेलमा तनहुँले राइजिङ पोखरामाथि २ रनको रोमाञ्चक जीत निकाल्यो । वर्षाका कारण रोकिने र सुचारु हुने भएको खेलमा राइजिङ पोखराले डिएलए नियमअनुसार १२ ओभरमा ८३ रनको लक्ष्य पाएको थियो । तर उसले ७ विकेटको क्षतिमा ८० रन मात्रै बनाउन सक्यो । तुले थापाले आक्रामक ब्याटिङ गर्दै १० बलमा ३ छक्कासहित १९ रन तथा कप्तान अमृत गुरुङले २६ रनको पारी खेले पनि पोखरा राइजिङ जीतको नजिकै पुगेर पनि जीत निकाल्न सकेन ।

त्यसअघि ब्याटिङ गरेको तनहुँले २० ओभरमा १ सय १५ रन बनाएको थियो । तनहुँका लागि क्रिस कार्कीले २८ तथा इशान पाण्डेले २६ रन बनाए । राइजिङका बलरहरू कृष्ण पौडेलले ३ तथा अमृत गुरुङले २ विकेट लिएका थिए । खेलमा तनहुँका इशान पाण्डे म्यान अफ द म्याच भए ।

Related News

सम्बन्धित समाचार

hero news full width