पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
int cricket

पोखरा । पोखरा २९, पट्नेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्ड हल निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई सिफारिस गरिएको छ । जग्गा खोजी गरिरहेको प्रदेश खेलकुद परिषद् गण्डकीले वडा कार्यालय २९ को सहमतिसँगै निर्माणका लागि सिफारिस गरेको सदस्यसचिव श्रीधर शर्माले बताए ।
वडा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले भने, ‘कुनै न कुनैरुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानबारे हामीले त्यति सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषद्ले ल्याएको नयाँ योजनामा हामी स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माण योजना अघि सारेमा हामी त्यसका लागि तयार छौं ।’

तर उनले विकासका नाममा जनताको उठिबास भने गर्न नसकिने बताउँछन् । ‘सरकारको प्रोजेक्ट कतिसम्मको हो ? कस्तो हुने हो ? मुआब्जाको विषय पनि आउँछ,’ उनले भने, ‘तर जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा उपयुक्त हुन्छ भन्ने लाग्छ ।’

करिब ४ सय ५० रोपनीमा फैलिएको उक्त जग्गा विगतमा प्रस्तावित पशुपतिघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतिघाटको निर्माण अघि नबढेसँगै प्रदेश सरकार ३ वर्षदेखि नयाँ जग्गाको खोजीमा रहेको थियो । प्रदेश सरकारले पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर समेत तयार गरिसकेको थियो । पशुपतिघाटमा हालसम्म करिब ५० लाख खर्च भइसकेको थियो ।

करिब ४५० रोपनीमा फैलिएको उक्त जग्गा विगतमा प्रस्तावित पशुपतिघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ

परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गा खोजी गरिरहेको थियो । पोखरा १४, भेडीफार्ममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र अन्य ५ स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस भएकोमा मन्त्रिपरिषद्को ९ चैतको बैठकले नवलपुर र तनहुँमा प्रादेशिक क्रिकेट रंगशाला निर्माण घोषणा समेत गरेको छ । तर, भेडिफार्मको जग्गा कृषि मन्त्रालयअन्तर्गत परेकोले सरकारी जग्गा ल्याउन समय लाग्ने भएकोले अर्को खोजी गर्न भनेको थियो ।

कार्यकारी सदस्य गौतमले निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै भने, ‘सबै हिसाबले पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयुक्त छ । पोखराको लेखनाथ पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकोले परिषद्ले निर्माण अघि बढाउन सिफारिस गरेको छ ।’
प्रादेशिक क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल पनि जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयुक्त रहेको बताउँछन् ।

२ जिल्लामा प्रादेशिक रंगशाला
पोखरा । गण्डकी प्रदेश सरकारले तनहुँ र नवलपुरमा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को ९ चैतको निर्णयले तनहुँ शुक्लागण्डकी ८, गाउँफर्कोदय माविको खेल मैदानलाई र नवलपुरको कावासोती २, नवदुर्गा खेल मैदान स्तरोन्नति गरी प्रादेशिकस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको जानकारी प्रदेश खेलकुद परिषद् गण्डकी सदस्यसचिव श्रीधर शर्माले दिए । प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषद्ले जिल्लाका विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिस गरेकोमा सरकारले हाल २ स्थानमा मात्र प्रादेशिकस्तरीय रंगशाला निर्माण गर्ने निर्णय गरेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width