आँखा अस्पतालको सेवा प्रभावकारी बनाउन जोड

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८०
Eye Hospital introduction

पोखरा । आँखा उपचारका क्षेत्रमा अब्बल दरिएको हिमालय आँखा अस्पतालको सेवा विस्तार गरी प्रभावकारी बनाउन व्यवस्थापन र कर्मचारी एकमत भएका छन् । नेपाल नेत्र ज्योति कास्कीको नवनिर्वाचित समितिको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । आँखा अस्पताल प्रशासनले कार्यक्रम राखेको हो ।

संघका नवनिर्वाचित सभापति सुरेन्द्र थापामगरले अस्पतालको सेवा विस्तारका लागि आफूहरु लागीपर्ने प्रतिबद्धता जनाउँदै कर्मचारीबाट पनि त्यही अपेक्षा गरिएको बताए । उनले भने, ‘सेवा प्रवाहमा तपाईंहरुले चुस्तता देखाउनुहोस्, कर्मचारीलाई खाने, लाउने र उपचारका लागि समस्या नहुने गरी सुविधा दिन हामी प्रतिबद्ध छौं ।’ सभापति थापामगरले अस्पताल प्रशासनको काममा आफूहरुले हस्तक्षेप नगर्ने भन्दै तर कामप्रति सबैभन्दा बढी मेडिकल डाइरेक्टर जिम्मेवार हुनुपर्ने भनाइ राखे । कर्मचारीहरुको क्षमता वृद्धिका लागि केकस्तो तालिम आवश्यक पर्छ त्यही अनुसार माग संकलन गर्न पनि उनले आग्रह गरे । अबदेखि वार्षिक रुपमा उत्कृष्ट कर्मचारी र विभागलाई पुरस्कृत गरिने घोषणा उनले गरे ।

सचिव नारायणप्रसाद बरालले ठूलो भवन र प्रविधिले मात्र सेवा दिन नसकिने भन्दै कर्मचारीको सामूहिक भावना आवश्यक रहेको भनाइ राखे । सुरुमा दैनिक ८/१० जना बिरामी आउने अस्पतालमा अहिले एकैदिन ९ सयसम्म उपचारका लागि आउने गरेको भन्दै उनले अब त्यही अनुसारको चाप थेग्नेगरी पूर्वाधार र जनशक्ति व्यवस्थापन आवश्यक रहेको बताए । उनले भने, ‘अस्पतालमा बग्रेल्ती समस्या छन्, ती समस्यको पहिचान गरी समाधानमा हामी जुट्छौं, हामी इँटा थप्न आएका हौं, इँटा झिक्न होइन ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले नयाँ समिति निर्वाचित भएपछि आफूहरु उत्साही भएको बताइन् । उनले भनिन्, ‘उहाँहरु हामीलाई सहयोग गर्न आउनुभएको हो, व्यवस्थापन र अस्पताल प्रशासन मिलेर अझ प्रभावकारीरुपमा सेवा प्रवाह गर्छौं ।’

अस्पताल प्रशासक कुमार गर्बुजाले नयाँ नेतृत्वको उत्साह देखेर आफूहरु पनि थप उत्साही भएका बताए । हिमालय आँखा अस्पताल कर्मचारी युनियन अध्यक्ष प्रेमकुमार नकर्मीले विगतका दिनमा भएका कमजोरी सुधार गर्न जरुरी रहेको बताए । । बिरामीको चाप अनुसार पूर्वाधार र प्रविधि विस्तार गर्न उनले सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width